२७ वैशाख, दोलखा ।

दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. २ मा मंगलबार राती भएको झडपमा परि मृत्यु भएका कुलबहादुर तामाङका पिता गोरे तामाङले बुधबार ३९ जना विरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता गराएका छन् ।

नेकपा एमालेको कार्यकर्ता सहित विभिन्न नारावाजी गर्दै जिल्ला प्रहरी कार्यालय दोलखा पुगेका मृतकका पिता तामाङले नेकपा माओवादी दोलखाका अध्यक्ष विशाल खड्का, इन्चार्ज देवी खड्का, केन्द्रिय सदस्य गंगाबहादुर कार्की, सहित ३९ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएका हुन् । मुद्धा पर्नेहरुमा माओवादी केन्द्रका केन्द्रिय सदस्यदेखि वडा स्तरी कार्यकर्तासम्म छन् ।

एमाले दोलखाले निकालेको विरोध र्याली सातदोबाटोबाट शुरु भएर जिल्ला प्रहरी कार्यालय दोलखामा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयमा पुगेपछि नेकपा एमालेका सभासद आनन्द पोखरेल र पार्वत गुरुङ सहितको टोलीले प्रहरी नायव उपरिक्षक रविन कार्की समक्ष हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

अनुसन्धानको लागि बुधबार विहान जुँगु पुगेको दोलखाका प्रहरी नायव उपरिक्षक रविन कार्कीको टोलीले शंकास्पद ८ जनालाई यस अघि नै पक्राउ गरी थुनामा राखेको छ ।

घटनामा संलग्न जोसुकै भए पनि हदैसम्मको कारवाही गरिने प्रहरी नायव उपरिक्षक कार्कीले बताए । मंगलबार राती ९ बजे दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्वर २ जुँगुमा माओवादी र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जना एमालेका कार्यकर्ताको मृत्यु भएको थियो । झडपमा दुवै पक्षका गरी करिव आधा दर्जन घाइते भएका थिए ।

गौरीशंकर गाउँपालिका वडा नम्वर १ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको थियो । मृतक तमाङ केही दिन अगाडि मात्र माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

यसैगरी, झडपका क्रममा गौरीशंकर गाउँपालिका वडा नम्वर २ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भिर घाइते भएका थिए । घाइते बुढाथोकीलाई काठमाण्डौ महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भईरहेको एमाले दोलखाले जनाएको छ । गम्भिर घाईते बुढाथोकी स्थानीय निलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् ।