१९ असोज, एजेन्सी ।

सन दुई हजार तीसको विश्वकप फुटबल आयोजना गर्न तीनवटा दक्षिण अमेरिकी मुलुकले संयुक्त रुपमा प्रस्ताव गरेका छन् । अर्जेन्टिना, उरुग्वे र पाराग्वेले दुई हजार तीसको विश्वकप संयुक्त रुपमा आयोजना गर्न विश्व फुटबलको प्रशासकीय निकाय फिफामा दावेदारी पेश गरेका हुन ।

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा रहेको राष्ट्रपति भवनबाट तीन देशले दाबेदारी प्रस्तुत गरेका हुन् । विश्वकप फुटबलले सन दुई हजार तीसमा एक सय वर्ष पुग्ने भएकाले त्यसलाई महत्वका साथ हेरिएको छ । पहिलो विश्वकप फुटवल पनि सन् उन्नाइससय तीसमा उरुग्वेमा नै भएको थियो ।

फिफाले भने सन् दुई हजार तीसको फुटवल आयोजनका लागि केही महिनापछि मात्रै दावेदारी खुला गर्ने छ । सन् दुई हजार अठारको विश्वकप रुसमा र दुई हजार बाइसको कतारमा हुने पक्का भइसकेको छ ।

सन् दुई हजार छब्बिसको विश्वकप आयोजनाको जिम्मा अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा पाउने सम्भावना छ । फिफाले दुई हजार छब्बिसदेखि विश्वकपमा बत्तीसबाट अठचालिस टीम बनाउने तयारी गरेको छ ।