२४ असोज, एजेन्सी । आइसल्याण्ड पहिलो पटक विश्वकप फुटवलका लागि छनौट भएको छ । गएराति युरोपियन क्षेत्रको समूह ‘आई’ को खेलमा कोसोभोलाई दुई शुन्यले हराउदै आइसल्याण्डले आगामी बर्ष रुसमा हुने विश्वकपमा ठाँउ सुरक्षित गरेको हो ।

आइसल्याण्डका लागि गिल्फी सिगर्डसन र योहान गुडमन्डसनले एक/एक गोल गरे । आइसल्याण्डले छनौट चरणका १० मध्ये ७ खेल जितेको छ । आइसल्याण्ड यसअघि युरोकप २०१६ को क्वाटरफाइनलमा पुगेको थियो । आइसल्याण्ड विश्वकपमा छनौट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश हो ।

विश्वकपमा छनौट हुने सबैभन्दा कम जनसंख्या भएको देश पनि आइसल्याण्ड नै हो । आइसल्याण्डको जनसंख्या झण्डै तीन लाख ३५ हजार मात्रै छ । त्यस्तै सर्बिया पनि विश्वकपका लागि छनौट भएको छ ।

युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘डी’ को खेलमा जर्जियालाई एक शुन्यले हराउदै सर्बिया विश्वकपमा छनौट भएको हो । सर्बियालाई लागि एलेक्सान्डर प्रिजोविकले एक मात्रै निर्णायक गोल गरे ।