मान्छेको जिन्दगीमा समयले कहिलेकाँही कस्तो खेल खेल्दो रहेछ पत्तै नहुने । नसोंचेको भइदिने, कल्पनै नगरेको परिणाम व्यहोर्नु पर्ने ।

युरोप सपनाको शहर थियो । त्यही सपना पूरा गर्न झण्डै दुई वर्ष अघि नेपालदेखि इराक हुँदै युरोपको यात्रा शुरु हुन्छ रुपन्देही देवदह ३ का पूर्ण बहादुर चौधरीको ।

कहिले खालि खुट्टा र भोको पेटमा भाग्दै, कहिले बीच बाटोमा घोडा किनेर चढ्दै, कहिले डुंगा खियाएर त कहिले ट्रकमा त्रिपालले छोपिएर अनि कहिले जेल पर्दै पर्दै एक दर्जन देश पार गरेर चौधरी युरोप छिरे ।

उनैलाई भेट्न म पोर्चुगलको राजधानी लिस्बोनबाट ४ घण्टाको यात्रा गरेर गाउँको ओदिमेरा हुँदै बेजा भन्ने ठाउँमा पुगेँ । अनि डेढ घण्टाको बसाईमा उनले भन्दै गए इराकदेखि युरोपसम्मको कहाली लाग्दो कहानी ।

म इराकमै रहेको बेला शरणार्थीको रुपमा युरोप छिर्न सकिने हल्ला सुनियो । अनि चार जना साथीले सल्लाह गरेर सन् २०१५ नोभेम्बर २ गते राती युरोप छिर्ने सपना बुनेर ट्याक्सीलाई फोन गर्यौं । केही बेरमा ट्याक्सी लिएर अपरिचित व्यक्ति आयो ।

रातीको १२ बजे ट्याक्सी चढ्यौं, बीचबीचमा ट्याक्सी र गाडी चेन्ज गर्दै, कहिले हिँड्दै बिहान ५ बजे टर्कि पारिको सिमामा पुग्यौं । हामीसँग भिसालगायत केही पनि कागजात त थिएन नै । हामी नेपाली हौं भनेर पहिचान गर्ने प्रमाण पनि थिएन । पासपोर्ट पनि इराकमै छोडेर हिँडेका थियौ ।

७ घण्टामा हामी टर्कीको सिमामा पुग्यौं । त्यहाँ पुर्याएको भाडा हामीले प्रतिव्यक्ति ६ सय युरो (झण्डै ७० हजार नेपाली रुपैयाँ) तिर्यौं । टर्की प्रहरीले फोक्स लाइट बालेर हामीलाई नियालीरहेको रहेछ । बीचमा खोलो थियो । खोला तर्न र इस्तानबुलसम्म पुग्न दलाललाई २ सय ५० युरो तिर्यौं । घिर्निबाट खोला पार गरियो ।

हामीलाई धेरै हिँड्नु पर्थ्याे । बाटोमा घोडा किन्न पाइदो रहेछ । हिँड्नै नसक्ने भएपछि दुईसय युरो खर्च गरेर घोडा किन्यौं । घोडा चढ्ने वित्तिकै माथिबाट प्रहरीले हामी माथि फायरिङ शुरु गर्यो ।

हामी ज्यान बचाउन भागाभाग गर्यौं । घोडा पनि भागे । लुकीलुकी धेरै टाढा आयौं । दलालहरुको सेटिङ अनुसार हामीलाई केही माइक्रो बसले कुरेर बसेका रहेछन् ।

हामीलाई कालो सिसा भएको गाडी भित्र भेडाबाख्रा जस्तो कोचेर लगे । २ घण्टाको यात्रापछि ओर्लन भनियो । अघि–अघि दलालका मान्छे रहेछन् । हामीलाई अर्कै बाटो दगुराए ।

किन यसो गरेको भनेर सोध्दा थाहा भयो अगाडि प्रहरीको चेकिङ रहेछ । अगाडि फेरी अर्को गाडी रहेछ । त्यस्ता ५ गटा गाडी परिवर्तन गर्यौं ।

४ घण्टाको यात्रापछि एउटा बस पार्कमा लगियो । त्यहाँ हामीलाई टर्कि प्रहरीले नियन्त्रणमा लियो । कोठामा लगेर नाङ्गै बनाएर चेक गर्यो ।

तर एउटा अफिसरले हामीलाई शरणार्थी हो भनेर दुर्व्यबहार नगर्न भन्यो । २५ डलरमा एउटा पेपर दियो । जुन इस्तानबुलसम्म पुग्न सहज हुने भनिएको थियो ।

त्यसपछि तीन वटा गाडी चेन्ज गरेर हामी टर्किको आंकरा आइपुग्यौं । रातीको १० बजे अर्को बस कुरिरहेका थियौं । खाने लाउने केही थिएन । हिउँ परिरहेकोले अत्याधिक जाडो थियो ।

अर्को गाडीका लागि भोलीको १२ बजेसम्म कुर्यौं । र अर्को बिहानको ६ बजे इस्तानबुल पुग्यौं । अर्को दिन ६ घण्टा जंगलको बाटो हुँदै माफिया एरियामा पुगिएछ ।

जंगलमा हजारौं मान्छे थिए । सिरियाली, अफगानी, पाकिस्तानी, बंगाली र नेपाली गरेर ६० जना हाम्रो गु्रपमा थियौं, जसमध्ये १० जना नेपाली । हामी ग्रिसको टापुमा जान चाहन्थ्यौं ।

खोल्ने, आफै हावा हाल्ने र चलाउने खालको डुंगा रहेछ । हामी सबैले बोकेर डुंगा समुन्द्रमा लग्यौं । चढ्ने बित्तिकै स्टार्ट हुँदो रहेछ । ग्रीस पुग्न ६० किलोमिटर हुँदा डुंगाको स्टार्ट बन्द भयो ।

तान्दा तान्दै डोरी चुड्यो । हातले जति खियाए पनि समुन्द्रको छालले पल्टाइदिन्थ्यो । पल्लो छेउबाट टर्कि र वल्लो छेउबाट ग्रीस पुलिसले बन्दुक ताकिरहेका थिए । डुंगामा पानी पस्न थालिसकेको थियो ।

हामीलाई अव बाँच्ने दिन सकिएको आभास भइरहेको थियो । हामी आजै अन्तिम रहेछ भन्दै आफ्नाे परिवार र भगवानलाई पुकारी रहेका थियौं । मर्ने अवस्था आएपछि जे त होला भन्दै रेस्क्यूका लागि लगाएको सेफ्टी ज्याकेट खोलेर हल्लाउन थाल्यौं ।

गोलीको बेगमा टर्कि पुलिस आयो । उद्धार गरेर दिनभरी डुंगामै राख्यो । पानीले पुरै कपडा भिजेका थिए । मिडियाले पनि फोटो खिचिरहेको रहेछ ।

साँझ ८ बजे टर्कि फर्कायो र जेलमा हाल्यो । त्यहाँ पनि खुट्टा टेक्ने ठाउँ थिएन । हामीलाई एकएकवटा विस्कुट र पानी पनि खान दिइयो ।

जेलमा राख्ने ठाउँ नभएपछि आधा घण्टा पछि हामीलाई प्रतिव्यक्ति ३५ युरो लिएर इस्तानबुल लैजान थाल्यो । रातभरी गाडी चलायो । तर हामीलाई दलालले गाडी रोकेपछि भागिहाल्न भनेको थियो ।

कोहीसँग जुत्ता थिएन । कोहीसँग कपडा थिएन । सबै लथालिंग थियो । भएको कपडा पनि डुंगा डुब्न थालेपछि समुन्द्रमा फाल्यौं । भोलीपल्ट विहान टर्कि पुग्यौं । अव हामी थाकिसकेका थियौं ।

र नेपाल फर्कने मुडमा पुगेका थियौं । तर केही साथीले अन्तिम प्रयास गरौं भने अनि मनोवल केही बलियो बनाएर हामी फेरी ग्रीसको यात्रामा निस्क्यौं ।

८ जना साथीले साथ छोडे । यतिबेला हामी ५२ जनामा सिमित भएका थियौं । ६ घण्टा जंगलको बाटो हिँडेर एउटा थोत्रो ट्रकमा त्रिपालले छोपेर बिहान ८ बजे पहिले पुगेकै माफिया एरियामा पुग्यौं ।

मुखमा पानी पनि परेको थिएन । जत्ति नै नुनिलो भए पनि समुन्द्रकै पानीले मुख भिजायौं । दलालहरुले १२ बजे राती पानी र पाउरोटी खान दिए । भोली ‘गेम’ छ भनेर गए ।

हाम्रो यात्रा पहिलेकै जस्तो डुंगाको यात्रा थियो । हामी सबै निरास थियौं । दलालहरुको कोर्ड भाषामा ‘गेम’ भनेको भोलीको जोखिमपूर्ण यात्रा रहेछ ।

हामीसँगै भएको एकजना बंगाली, जो माछा मार्ने काम गरिसकेकाले केही सिप रहेछ । रातभरी डाँडामा बसेर डुंगा बनायौं । एजेण्टहरुले प्रहरी हेरे, कतै थिएन । गह्रौ डुंगा बोकेर समुन्द्रमा जान्छौं । फेरी प्रहरी आउँछ, डुंगा बोेकेर फेरी डाँडामा आउँछौं । यो गर्दा गर्दै धेरै थाक्यौं ।

तर हरेस खाएनौं । अघि बढ्यौँ । यो पटक चाँही सफल भयौं । पारी पट्टि संयुक्त राष्ट्रसंघको टोली रहेछ । हामीलाई सहयोग गर्यो । स्वास्थ्य चाँच गरे, केही खाने कुरा र न्यानो कपडा दियो ।

र स्टे पेपर दिएर ग्रीसको टापुबाट हेड अफिस लग्यो । जहाँ हजारौं मान्छे थिए । हामीलाई त्यहाँ ६ दिन बस्नु पर्यो ।नोभेम्बर १७ मा ५ घण्टा लाइनमा बसेर प्रतिव्यक्ति ६० युरो तिरी टोकन लियौं र ६५ युरो तिरेर ग्रीसको टापुबाट राजधानी एथेन्सका लागि पानी जहाजको टिकट काट्यौं ।

झण्डै १२ घण्टाको यात्रापछि हामी एथेन्स पुग्यौं । त्यसपछि हाम्रो यात्रा मेसिडोनियाका लागि तय भयो । रातीको ९ बजे मेसिडोनियाको बोर्डरमा पुग्यौं । त्यति नै बेला फ्रान्समा आतंककारी आक्रमण भयो ।

जसले हामीलाई थप कडाई हुने स्पष्टै थियो । तर पनि हामी रातभरीको ट्रेनको यात्राबाट स्लोभाकिया पुग्यौं, त्यसपछि कोष्टारिका गयौं ।

रातभरी हिँडेर सर्भिया, सर्भिया हुँदै अष्ट्रिया छिर्ने हाम्रो मिशन थियो । प्रहरीको आँखा छलेर अष्ट्रिय प्रवेश गर्नु निक्कै गाह्रो र चुनौतीपूर्ण काम थियो । त्यतिन्जेल हाम्रो यात्रा १८ औं दिनमा चल्दै थियो ।

तर भाग्यले साथ दिएर होला हामी सहजै प्रवेश गरयौं र ग्यारेज भन्ने ठाउँमा पुग्यौं । यति बेला हामी २१ जना मात्र भएका थियौं । अब हामी युरोप छिरिसकेका थियौं ।

त्यसमध्ये हामी तीन जनाले इटाली जाने निर्णय गर्यौं । प्रतिव्यक्ति तीन सय युरो तिरेर ट्याक्सीमा हामी इटाली र अष्ट्रियाको बोर्डर पुग्यौं । अनि टे«न चढेर इटालीको भेनीस गयौं । त्यो रात स्टेशनमै बितायौं ।

चिनेको कोही थिएन । संयोगले त्यहाँका एनआरएन अध्यक्ष छत्रकुमार श्रेष्ठसँग सम्पर्क गर्न सफल भयौं । अरु केही साथीसँग पनि सम्पर्क भयो । काम खोज्न थाल्यौं । कागजपत्र केही नभएकाले काम पाउन गाह्रो थियो । अब हामी दुई जना मात्र थियौं ।
गैर कानूनी रुपमा काम गर्दै गयौं । तीन महिना त्यसरी नै बितायौं । कोही कता गए कोही कता । अहिले पी. आर. बन्छ कि भनेर पोर्चुगल आएको छु । संघर्ष गरिरहेको छु ।

पूर्ण बहादुर चौधरी

Advertisements