५ असोज, काठमाडौं ।

सभासद सीतादेवी यादव (६० वर्ष)। संविधानसभा समारोहमा सहभागी हुन गइरहँदा बाटोमा उनलाई खबर आयो, ‘माननीयज्यू, तपाइँको घरमा आगो लगाइदिए, गाडी र मोटरसाइकल पनि जलाइदिए।’

संविधान घोषणाको दिन खुसी भइरहेका बेला उनलाई दुःखद् खबर आयो। मूलढोका तोडेर आगो लगाउन आएका समूहबाट बच्नका लागि त्यहाँ रहेकाहरू पछाडिको ढोकाबाट भागेछन्।

‘उपेन्द्रजी, तपाइँले मेरो घर जलाएर आफ्नो माग पूरा गराउन खोज्नुभएको हो र! यसरी माग पूरा हुन्छ भने आउनुहोस्, अब मलाई पनि जलाउनुहोस्,’ विक्षिप्त अवस्थामा रहेकी सभासद यादवले भनिन्।

sita-devi-yadav

उनका अनुसार आफ्ना माग पूरा गराउन व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याथउने काम संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वका आन्दोलनकारीले गरेका हुन्।

सिरहा–३ की प्रत्यक्ष निर्वाचित सभासद, नेपाली कांग्रेसकी एक मात्र महिला जिल्ला सभापति पनि हुन्। मधेसका मुद्दा स्थापित गराउनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालाई काठमाडौंमा दबाब दिइन्, संविधानसभा बैठकमा धारण राखिन्, पार्टी मोर्चाभित्र लडिन् तर आज उनकै घर आन्दोलनकारीले जलाइदिए।

‘खासमा आन्दोलनमा जनसमर्थन क्रमशः घटिरहेको थियो, उपेन्द्रजी दुई दिनअघि सिरहा जानुभएछ र गाउँ–गाउँबाट बसमा चढाएर आन्दोलनकारीलाई ल्याउनुभएको थियो, त्यही भीडले मेरो घर जलायो,’ सभासद यादव भन्छिन्।

‘घरमा १०–१५ जना थिए, एकाएक ढुंगामुढा गरेछन् र आगो लगाइदिएछन्, घरमा भएकाले ज्यान जोगाउन पछाडिको ढोकाबाट भागे,’ यादवको दुखेसो छ, ‘घरमा भएको गाडी, मोटरसाइकल र अन्य महत्वपूर्ण समान जलाइदिए।’ त्यसको जवाफ जुलुस नेतृत्वकर्ता अध्यक्ष यादवले दिनुपर्ने उनको माग छ। आजको नागरिकमा खबर छ ।