१ जेठ, काठमाडौं ।

पहिलोपटक भएको स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणाम प्रमुख प्रतिपक्षी एमालेको पक्षमा देखिन थालेपछि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेता र समर्थकमा हताशा र निराशा देखिएको छ ।

प्रारम्भिक मतगणनामा एमाले रुकुमको चामेसहितको यस अघि नै निर्विरोध भएको एक ठाउँमा गरी अग्रता लिएको छ । मतगणना भइरहेको महानगर, नगर र गाउँपालिकामध्ये एमालेले १४ स्थानमा अग्रता लिएको छ ।

यस अघि नै एक ठाउँमा निर्विरोध भएको कांग्रेसले १३ ठाउँमा अग्रता लिएको छ । यता खाता खोल्न नसकेको माओवादीले ६ स्थानमा मतगणनामा आफूलाई अगाडि रोखेको छ ।

मतगणना भइरहेको मध्ये ललितपुर महानगरपालिकामा कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यजनकारभन्दा अगाडि छन् । महर्जनको ३६७ मत छ भने ब्यजनकारको ३०७ मत छ ।

एमालेले कांग्रेस माओवादीको गठबन्धन भएको मकवानपुरको थाहा नगरपालिकामासमेत अग्रता लिएपछि कांग्रेस र माओवादीका नेताहरु तनावमा देखिएका छन् ।

कांग्रेसका नेता लोकेश ढकालले आइजिपी काण्ड, प्रधानन्यायाधीशमाथिको महाअभियोगपछि कांग्रेस र माओवादीको चुनावी तालमेलको गलत संस्कार भन्दै फेसबुकमा स्टाटस लेखेका छन् । उनले लेखेको स्टाटसमा पुराना काण्डले गर्दा कांग्रेस प्रारम्भिक मतगणनामा पछि परेको उल्लेख छ–मतगणनाको प्रारिम्भक रुझानले त्यही भन्छ, कांग्रेस नेताको गालामा जनताको झापु ।

माओवादी केन्द्र निकटका पत्रकार दिपशिखाले पनि माओवादीको संविधानसभापछि स्थानीय तहको निर्वाचनको एजेण्डा माओवादीको भएको दाबी गर्दै आफूहरुको एजेण्डाले जित्दा चुनावी परिणामबाट आत्तिन नहुने फेसबुक स्टाटसमार्फत बताएका छन् ।