नारायण ढुङ्गाना

२६ वैशाख, वाल्मीकि आश्रम, चितवन ।

एउटा झुप्रो घरको पिँढीमा एक दम्पती सोमबार दिउँसोको गर्मी छल्न सुतिरहेका थिए । आ–आफ्नै मोबाइलमा मस्त थिए उनीहरु ।

दाइ चुनाव लागेको छैन ? पदमबहादुर राना मगर जुरुक्क उठे, ‘खै चुनाव छ भन्थे क्यारे अरुले त, हामीलाई त था छैन, चुनाव आ’छ कि छैन भनेर । कोही नेताहरु नि आ छैन भोट माग्न ।’

‘अनि भोट हाल्नचाहिँ नजाने उसो भए ?’ अर्काे प्रश्नमा पदमबहादुरले भने, ‘नेता आए हाल्ने हो क्यारे, को खोजेर जान्छ र भोट काँ हाल्ने भन्दै ?’

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम भारतीय सिमानामा पर्ने वाल्मीकि आश्रमका उनी पहिले जितेकाले पनि केही काम नगरेको गुनासो गर्छन् ।

सुकुम्बासी बस्तीमा नयाँ घर बनाइदिन्छु भनेर अघिल्लो निर्वाचनमा भोट माग्न आएका थिए । नेताको आश्वासन अझै उनलाई ताजै छ । तर अहिलेसम्मै फर्केर आएनन् । त्यही भएर नेताहरुप्रति उनको ठूलो वितृष्णा छ ।

चितवनको माडी नगरपालिका वडा नं. ३ मा पर्छ वाल्मीकि आश्रम । १४ घर रहेको यो बस्ती चितवन निकुञ्जको पश्चिम अन्तिम भाग भारतीय सीमामा छ । जिल्ला सदरमुकाम भरतपुरबाट करिब १२० किमी टाढा सवारी यात्रामा नवलपरासी हुँदै भारत छिचोलेर जानुपर्ने बाध्यता छ ।

धार्मिक पर्यटकीय क्षेत्र हो वाल्मीकि आश्रम छ । सीता पातल भासिएको, लवकुश जन्मिएर शिक्षा आर्जन गरेको र वाल्मीकिले यही बसेर रामायण लेखेको भनाइ छ । आश्रमसँगै जोडिएको १४ घर सुकुम्बासीको बस्तीमा ६० जनाको जनसङ्ख्या छ भने ३५ जना मतदाता छन् ।

जिल्लाका अन्य क्षेत्रमा घरघरमा आ–आफ्ना पार्टीका झन्डा फहराइएका छन् । अन्य गाउँमा चुनावी नारा घन्किरहेका छन् । चुनावी गीत बजाउँदै दलका नेता कार्यकर्ता नाचगानका साथ भोट मागिरहेका देखिन्छन् । छिमेकी त्रिवेण सुस्तामा पनि चुनावी माहोल चर्काे छ ।

तर उक्त गाउँमा अहिले चुनाव आएको पत्तै छैन । गाउँ सुनसान छ । न त कसैको घरमा झन्डा छन् न चुनावी प्रचारमा कोही नेता आएका छन् । न स्थानीयवासीमा उत्साह छ । मतदाता शिक्षा स्वयंसेवकहरु समेत यहाँ नआएको स्थानीयवासीले बताए ।

सूर्य गुरुङको घरमा चार भोट छ । एकमात्र गुरुङ परिवार रहेको यो ठाउँमा १३ घर मगरका छन् । चुनावमा भोट माग्न भारतीय भूमि हुँदै आउनुपर्ने भएकाले नेताहरु आउँदैनन् ।

डुङ्गाबाट जान नेताहरुलाई समय छैन । नवलपरासीको त्रिवेणीधामबाट नारायणीमा डुङ्गा तरेर आधाघन्टाको बाटो जङ्गल हिँडेपछि भेटिन्छ वाल्मीकि आश्रमको यो गाउँ । ‘खै अभितक त हामीकोमा कोही पनि आउनु भा’छैन, चुनाव खै २९ हो कि ३१ गते हो भन्ने सुन्या थेँ रेडियोमा, सुर्य गुरुङले भने ।

गाउँलेहरु पत्रकारप्रति भरोसा गर्छन् । ‘चुनावका बारेमा भन्न आएको पहिलो नै तपाईंहरु हो,’ सूर्यले भरोसा गरे, ‘अब यसो पहल गर्दिने हजुर जस्तो पत्रकार नै हुनुहुन्छ, अरु पहल गर्ने मान्छे को छ र ? के गर्नु, नेतालाई जिताइयो, एक दिन पनि आ’छैन जितेपछि ।’

पहिले जितेर गएका नेता नफर्कंदा उनीहरु राजनीतिप्रति कटाक्ष गर्छन् । ‘पहिले चुनावमा नेताहरु आ’थे, यसोउसो भन्छन् आफ्नो काम लिएपछि सिद्धियो, अब त आयो भने एउटा भोटको १० हजार, यमबहादुर मगरले भने ।

एकजना वृद्ध खड्गबहादुर राना मगर मध्यघाम छल्न पिँढीको खाटमा सुतिरहेका थिए । राम्ररी आँखा नदेख्ने उनको बोली चहकिलो थियो । उनको भनाइमा उनी ९४ वर्षका भए । नागरिकता प्रमाणपत्रले ७५ वर्ष देखाउँछ । उनीसँग चुनावबारे सङ्क्षिप्त कुरा भयो ।

चुनाव कहिले हो थाहा छ बा ?
छैन, अहिले हामी भाराभूरीको हो र, ठूल्ठूलो हाकिमहरुको हैन र !

कसैले भनेको छैन तपाईंलाई ?
भनेको छैन क्यारे, चुनाव आ’को नि था छैन, चुनाव त भन्दै छन, के के हो के के, आजकालको कानून बुझिन्न ।

यही वैशाख ३१ मा हो नि त चुनाव ।
(आश्चर्य मान्दै) हो र ! वैशाख पनि त अब कति छ र ? मतदाता शिक्षा दिने स्वयंसेवक पनि आ छैन ? कोही पनि आ छैन ।

अरु को आयो त चुनावको कुरा गर्न ?
छैन, तपाईंहरु नै हो ।
घर चितवन, भोट नवलपरासी ।

उनीहरुको घर चितवनको माडी नगरपालिका–३ मा पर्छ । नागरिकता चितवनकै छ । तर मतदाता नामावली भने नवलपरासीको छ । नागरिकता बनाउन जाँदा टाढा भयो भनेर बसाइँसराइ गरेर त्रिवेणी सुस्तामा पत्र काटिदिएर पठाएकाले बसाइँ चितवन र मत खसाल्ने नवलपरासी भएको सूर्य बताउँछन् ।

त्रिवेणीबाट भोट माग्न नआएको र चुनावका बारेमा कसैले जानकारी नदिएकामा उनीहरु दङ्ग छन् । त्यसैले सुनसान छ वाल्मीकि आश्रम गाउँ । सोमबार कुनै घरमा निर्वाचन लागेको आभास थिएन । यहाँ २०२४÷२५ सालदेखि बस्ती बसेको हो ।

पाल्पा, सिन्धुलीलगायत जिल्लाबाट आएर उनीहरु बसेका छन् । स्थानीय यमबहादुर सारु मगर चितवन अपायक भएकाले यतै भोट हाल्न मिलाइदिएको बताउँछन् ।

नवलपरासीका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारी त्रिवेणी सुस्ता गाउँपालिकाबाट छुट्टिएर सुस्ता गाउँपालिका र विनयी त्रिवेणी सुस्ता गाउँपालिका बनेकाले ढिला भएको भन्दै छिट्टै मतदाता शिक्षा स्वयंसेवकहरु खटाउने बताउछन् ।

भारतकै भरोसा

यमबहादुर मगरका अनुसार यहाँका सबैको बजार भारत हो । भारतमै कमाउन जान्छन् । गाउँका १० युवक अहिले कमाउन भारत गएका छन् । भोट हाल्नचाहिँ सबै नवलपरासी जान्छन् । आफ्नै देशबाट जाने भरपर्दाे बाटो छैन ।

डुङ्गाबाट जान पर्यटकलाई प्रतिव्यक्ति रु १०० पर्छ । स्थानीयवासीलाई रु ५० लाग्छ । ‘एकमुठी नुन घटे पनि भारत नै जानुपर्छ, यताबाट जाँदा डुङ्गामा रु ५० लिन्छ । त्यसले तीन पोका नुन आउँछ’ सूर्यले अनुभव सुनाए ।

विसं २०३५ मा सिन्धुलीबाट आएका हुन् सूर्य । अहिले उनी आश्रम रेखदेख गर्छन् । उक्त गाउँमा अहिले खानेपानीको पनि राम्रो प्रबन्ध छैन । गाउँमा सौर्य बत्ती भने जोडिएको छ । शौचालयका सामग्री त्यसै थन्किएका छन् ।

खोलाको पानी पिउनुपर्ने बाध्यता छ उनीहरुलाई । यस्तो अवस्थाका सुकुम्बासीका बारेमा चुनावमा समेत नेताहरु नपुग्नु विडम्बना छ । रासस

Advertisements