१७ असोज, काठमाडौं ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार गरेका छन् । उनले एमालेलाई प्रतिपक्षमा राखेर आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने प्रस्तावसमेत गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव लिएर शनिबार साँझ बालुवाटार पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव कोइरालाले अस्वीकार गरेको बालुवाटार स्रोतले बतायो ।

Sushil koirala talking

प्रचण्डले १६ बुँदे सहमति गर्दाको अनौपचारिक सहमतिअनुसार एमाले नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । कोइरालाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने र त्यसमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेको स्रोतले बतायो ।

‘एमाओवादी अध्यक्षले संविधान संशोधन कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ । १६ बुँदे सहमति गर्दा एमाले नेतृत्वमा सरकार बनाउने सहमति भएकै हो भन्ने धारणा राख्नुभयो,’ बैठक स्रोतले भन्यो, ‘तर, कोइरालाले एमालेलाई सरकारको नेतृत्व दिने कुरा मान्नुभएन । उहाँले आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गर्नुभयो ।’

प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न साँझ ६:२० बजे बालुवाटार पुगेका थिए । उनी प्रधानमन्त्री कोइरालासँग २० मिनेट मात्रै कुरा गरेर निस्किएका थिए । कांग्रेसले एमाले नेतृत्वमा राष्ट्रिय सरकार बनाउन अस्वीकार गरेपछि राष्ट्रिय सहमतिको सरकार नबन्ने निश्चित भएको छ । राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार एक साताभित्र सहमतिको प्रधानमन्त्री चुन्न संसद्लाई आह्वान गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।