डा. तारा जी

लोकतान्त्रिक व्यवस्थाको एउटा सुन्दर पक्ष हो जनताले आफ्ना प्रतिनिधि चुन्नको लागि भोट हाल्ने अधिकार पाउनु । तर जनताको लागि जनताद्वारा गरिने यस व्यवस्थामा पनि किन मानिसहरु यति धेरै दुखी छन , किन उनिहरु सरकार प्रति रुष्ट छन ?

पक्कै पनि यस व्यवस्थामा केही न केही सुधार्नु पर्ने कुराहरु छन् । आजसम्म जनताको हितको लागि सबैभन्दा उपयुक्त राज्य व्यवस्था भनेर मानिएको लोकतान्त्रिक व्यवस्थामा कस्ता कस्ता कमजोरी छन , र जुन कमजोरिले गर्दा समाज, देश र जनताहरुलाई कस्तो असर पर्न सक्छ , आउनुहोस् ती कमजोरीहरुको बिबेचना गरौ ।

लोकतान्त्रिक परिपाटिमा जनताले आफ्नो गोप्य मताधिकारको प्रयोग गरेर आफ्नो हितको लागि शासन गर्ने नेताहरु चुन्ने गर्छन् । तर प्रश्न यो छ कि यसरी चुनिएका प्रतिनिधिहरूले के आफ्नो क्षेत्रका सबै जनताको प्रतिनिधित्व गर्छन् त ? उदाहरणको लागि A र B नाम गरेका दुई फरक पार्टिका नेताहरु चुनावमा उठे र जनताले भोट पनि दिए तर चुनावमा A ले ५१% मत ल्याएर जित्यो तर B ले ४९% ल्याएर हार्यो भने यहाँ त ५१% ले ४९% माथि शासन गरेको ठहरेन र ?

ती ४९% ब्यक्तिहरू राज्यका जनता होइनन ? उनिहरुको मतको कदर खोइ त ? उनिहरुका माग र मुद्दाको सुनुवाई कहिले हुने ? के ५१% प्रतिशत जनताको खुशी मात्र राज्यको खुशी हो ?

लोकतान्त्रिक व्यवस्थाको सबैभन्दा नराम्रो पक्ष भनेको बहुमत (Majority) ले अल्पमत (Minority) माथि गर्ने शासन हो ।

एक पटक बेन्जामिन फ्र्यान्कलिनले भनेका छन ,  प्रजातन्त्र  (Democracy) भनेको दुई ब्वाँसाहरु र एक भेडो मिलेर भोलि के खाना खाने भनेर भोट गर्नु जस्तै हो ।

अब यहाँ बुझ्नु पर्ने कुरा के छ भने ब्वाँसोहरुले त अवश्य मासु खाने भन्नेछन , र आफूहरु दुई जना भएकोले भोटिङमा भेडोलाई जित्ने छन तर भेडोलाई त मासु पच्दैन नि ? भेडोले के गर्ने, ऊ मर्ने ? उसले भोटिङमा त हार्छ ,किनकी ऊ एक्लै छ । अनि यहाँनिर भेडोको लागि मताधिकार सहितको प्रजातन्त्र अभिसाप भएन ?

तपाईंले भन्नुहोला लोक्तान्त्रिक व्यवस्थामा बहुमतको कदर हुन्छ भनेर । तर म भन्छु लोकतान्त्रिक व्यवस्थामा बहुमतको पनि कदर हुँदैन ।

कसरी भन्नुहोला भने मानौ कुनै ठाउँमा A ,B र C ले उम्मेद्बारी दिए र मतगणनाको नतिजामा A ले ४०% मत ल्याएर बिजयी भयो तर B र C ३०,३०% मत ल्याएर हारे भने बहुमत जित्ने ४०% को भयो कि हार्ने ६०% को ? यदी चुनावमा हार्ने B र C को मत जोड्ने हो भने त जित्ने A को भन्दा पनि धेरै मत हुन्छ । आखिर B र C लाई मत हाल्नेहरूले त A लाई नरुचाएकै हुन नि । तर ६०% ले नरुचाउने  व्यक्ती त्यो क्षेत्रको नेता कसरी बन्न सक्ला ?

अर्को मलाई चित्त नबुझेको कुरा के भने चुनावमा जुन उमेद्वारहरु उठ्छन उनिहरुलाई रोज्ने कि नरोज्ने भन्ने त जनताको हातमा हुन्छ तर उनिहरू चुनावमा उठ्ने कि नउठ्ने भन्ने त जनताको हातमा हुँदैन ।

कुनै क्षेत्रको चुनावमा कुन नेता उठ्ने भन्ने जनताको हातमा होइन पार्टिको हातमा हुन्छ । उठाइएका मध्ये कसलाई रोज्ने भन्ने मात्र जनताको हातमा हुन्छ ।

पार्टिले राम्रै मान्छे उठाएछन भने त ठिकै भो तर सबै पार्टिले गधा मात्र उठाए भने नि ? जनताले के गर्ने ? धेरै गधा मध्ये कुनै एउटा गधा रोज्ने त हो ।

यहाँ कसरी जनताको प्रतिनिधित्व भयो र ?

जस्तै एक पार्टिले X नाम गरेको उमेद्वारलाई मेयरमा उठायो अर्को पार्टिले चाँही Y नाम गरेकोलाई उठायो तर जनतालाई थाहा छ कि दुबै X र Y नै खराब छन्। अब जनताले कसलाई रोज्ने दुई खराब मध्ये एउटा खराबलाई ?

दुई गधा उठेका छन एउटा गधा त रोज्नै पर्यो जनताले । पार्टिले चुनावमा कुनै ब्यक्तिलाई उमेद्वारीको टिकट दिनुपर्यो भने के को आधारमा दिन्छ ? यो ब्यक्तिले देश र जनताको लागि केही गरेको छ भनेर कि यो ब्यक्तिले हाम्रो पार्टीको लागि केही गरेको छ भनेर ?

अवश्य पनि त्यही ब्यक्तिले उमेद्वारीको टिकट पाउँछ जसले ढाटेर, छलेर ,लडेर ,भिडेर चाहे जसरी होस् ,पार्टिलाई योगदान दिएको होस् पार्टिको सङ्गठनलाई बलियो बनाएको होस् । पार्टि सङ्गठनलाई बलियो बनाउनेले जनताको सेवा पनि गर्छ भन्ने ग्यारेन्टी छ ??

मलाई लाग्छ, यहिनेरबाट गडबड सुरु हुन्छ । संगठनलाई बलियो त गुण्डाले पनि बनाउछ , तर समाजलाई गुण्डाले के दिन्छ ?

लोकतान्त्रिक या भनौ प्रजातान्त्रिक शासन व्यवस्थालाई हालसम्मको संसारकै राम्रो व्यवस्था मानिए पनि यसमा रहेका अनेकौ कमिकजोरीहरूले मलाई प्रजातन्त्रको इतिहास खोज्न वाध्य बनायो । आउनुहोस् यसको बारेमा कुरा गरौ ।

सुकरात

प्रजातान्त्रिक व्यवस्थाको सुरुवात आज भन्दा करिब २४०० बर्ष अगाडि ग्रीस बाट भएको हो । लोकतान्त्रिक व्यवस्थामा जनताले आफ्नो लागि आफै जनप्रतिनिधी चुन्न पाउछन । तर आज भन्दा २४०० बर्ष अगाडिनै सुकरातले लोकतान्त्रिक व्यवस्थामा भएका कमजोरीहरु औल्याएका रहेछन । तर यतिका बर्षहरु बितिसक्दा पनि हामीहरू त्यही व्यवस्थामा बाँचिरहेका छौ । हामीले कहिल्यै चिन्तन गरेनौ कि कुनै यो भन्दा उपयुक्त शासन व्यवस्था पनि हुन सक्छ कि भनेर?

आज ग्रीकहरूले चिहानघाटबाट सारा दुनियाँलाई आफूले दिएको सिद्दान्तमा चलाइरहेका छन । हामी जिउदा भनाउँदाहरु तीनै बासी सडेगलेका पूराना थोत्रा राजनीतिक व्यवस्थाहरुलाई नै आज सम्म बोकेर हिडिरहेका छौ । यसको अर्थ प्रजातान्त्रिक व्यवस्था पूरै खराब भन्न खोजेको होइन र मसँग अर्को बिचार छ भन्न खोजेको पनि होइन , भन्न खोजेको के हो भने अब सोचौ यो भन्दा उपयुक्त  शासन व्यवस्था ।

ग्रीक दार्शनिक प्लेटोले लेखेका धेरै किताब मध्ये एक हो Six Of Republic ,जुन किताबमा सुकरातको  प्रजातन्त्रप्रतिको निराशाबादी धारणालाई उल्लेख गरिएको छ । सुकरातले समाज वा भनौ देशलाई एउटा पानी जहाजसँग तुलना गरेका छन।

सुकरात भन्छन यदि तिमी पानीजहाज चढेर समुद्री यात्रा गर्दै छौ भने तिमी आफ्नो पानी जहाजको चालक को होस् भन्ने चाहन्छौ ? जो सुकै व्यक्ति  कि पानीजहाज चलाउन जानेको ,समुद्री आँधी हुरिको बारेमा ज्ञान भएको व्यक्ति। अवश्य पनि दोस्रो प्रकारको व्यक्ति।

अब मलाई भन तिमीलाई समाज र देश चलाऊने मान्छे चहियो भने चाँही कसलाई रोज्छौ , जो कोहिलाई कि त्यस सम्बन्धी ज्ञान,क्षमता र इमान्दारिता भएकोलाई ? जो सुकैलाई समाज र देश चलाउने जिम्मा दिनु भनेको समुद्र सम्बन्धी ज्ञान नै नभएको व्यक्ति ले हाँकेको पानी जहाजमा चढेर आँधी चलेको समुद्रमा यात्रा गर्नु जस्तै हो । जसले दुर्घटना बाहेक अरु केही निम्त्याउदैन ।

सुकरातले अगाडि भन्छन , प्रजातन्त्रमा समस्या कहानेर छ भने प्रजातन्त्र मा जनतालाई भोटको अधिकार हुन्छ , जब जनताहरुले देश चलाउने व्यक्ति भोट दिएर चुन्नु पर्ने हुन्छ तब कुन व्यक्तिले देश चलाउन सक्छ र कुनले सक्दैन भनेर छुट्याउन सक्ने खुबी के सबै मानिसहरुमा हुन्छ ? अवश्य हुँदैन ।

यसर्थ चुनावमा भोट हाल्नु भनेको पनि एक किसिमको दक्षता हो न कि आफूलाई जे मनमा लाग्छ त्यही चिन्हमा छाप लगाउनु । सहि तरिकाले भोट हाल्न जान्नु पनि एक किसिमको दक्षता भएकाले यसको बारेमा सिस्टम्याटिक तरिकाले सिक्न जरुरी हुन्छ पढ्न जरुरी हुन्छ जसरी डाक्टर बन्न इन्जिनियर बन्न हामी पढ्छौ सिक्छौ ।

त्यसैले त सुकरातका अनुसार सबैलाई भोटको अधिकार दिइनुहुदैन , तीनैलाई मात्र दीइनु पर्छ जसले राम्रोसँग सोच्न र निर्णय गर्न सक्छन , अठार बर्ष कट्यो अनि जो सुकैले भोट हाल्यो, यस्तो हुनु हुँदैन, यस्तो भयो भने गलत व्यक्ति चुनिने सम्भावना प्रबल हुन्छ ।

भोटरहरु कती मुर्ख हुन्छन भन्ने कुराको भुक्तभोगी सुकरात स्वयम पनि भए । इसा पूर्व ३९९ मा सुकरातलाई एउटा आरोप लाग्यो कि उनले राज्यका युवाहरुलाई भड्काइ रहेका छन बहकाइ रहेका छन । यो कुराको फैसला गर्नको लागि ५०० जना एथेन्सवासीहरुलाई बोलाइयो र उनले गल्ति गरेका हुनकी होइनन भनेर भोट गर्न लगाइयो ।

भोटको नतिजा अनुसार मात्र दुई , तीन भोटले उनले गल्ति गरेको भन्ने पक्ष अगाडि देखियो र त्यही थोरै मतको मार्जिनको आधारमा दोषी ठहर गर्दै उतिबेलाको प्रजातान्त्रिक शासन व्यवस्था भएको ग्रीकमा सुकरातलाई फाँसी दिइयो । यसबाट सुकरात के निष्कर्षमा पुगे भने कुनै बिषयको बारेमा भोट गर्नु छ भने जो सुकैलाई भोट् गर्न दिनु हुँदैन , ती व्यक्तिहरुलाई मात्र भोट गर्ने अवसर दिनुपर्छ जसले उक्त बिषयबस्तुको बारेमा राम्रो सँग बुझेका छन र जसले राम्रो तरिकाले सोच्न सक्ने सामर्थ्य राख्छन ।

सबैलाई भोट गर्न दिइनु हुँदैन भन्ने सुकरातको यो कुराले हामीलाई रिस पनि उठ्न सक्छ तर उनी भन्छन यदि सबैलाई भोटको अधिकार दिने हो भने स्कुलमा कलेजमा, समाजमा घरमा कस्तो व्यक्ति लाई भोट हाल्ने र कसरी हाल्ने भनेर राम्रोसँग सिकाइनु पर्छ । मतदाता शिक्षा प्रभावकारी नहुदाको नतिजा त हामीले आफ्नै देशमा देखिरहेका छौ । अझै पनि नेपालका कैयौ मतदाताहरु आफ्नो नेताको क्षमता र गुणलाई नभै चुनाव चिन्हको गुण धर्म हेरेर भोट हालिरहेका छन ।

तपाईंले सुन्नुभएको होला मान्छेहरु भन्छन, भोट त रुखलाई नै दिने हो , किन भनेको त रुखले शितलता दिन्छ रे ? भोट त सूर्यलाई नै दिने हो , किन भनेको त सूर्यले उज्यालो दिन्छ रे ? त्यो रुख र सूर्य चिन्ह लिएर उठ्ने नेता कस्तो छ कसैलाई बुझ्नु छैन , बस् , गाईले दूध दिन्छ भन्यो गाईमा भोट् हाल्यो , हलोले खेत जोत्छ भन्यो हलोमा बजायो । यो जत्तिको अपरिपक्कता के हुन सक्ला ?

छाप लगाउन नजान्ने , मत पत्र पट्याउन नजान्ने आदी सीपजन्य गल्तिहरु त कति कति !

कतिपय अवस्थामा एक मत कै फरकले पनि हार जीत निश्चित हुन्छ जब कि त्यही चुनावमा सयौ मत बदर भएका हुन्छन ।

र चाख लाग्दो कुरा त के छ भने चुनावमा मतपत्रका सबैभन्दा माथि नाम वा चिन्ह हुनेले त्यसैपनि धेरै मत पाउने संभावना हुने रहेछ । त्यसलाई ‘candidate name order effect’ भनिन्छ ।

मान्छेमा निहित ‘cognitive bias’ का कारण त्यस्तो हुने कुरा अमेरिकाको ओहायो विश्वविद्यालयमा गरिएको अध्ययनले सिद्ध गरिसकेको छ । उक्त अनुसन्धानले मतपत्रमा पहिला नाम हुने उम्मेदवारले त्यसपछिको उम्मेदवारको भन्दा २.५ प्रतिशत बढि मत पाउने संभावना हुन्छ भन्ने देखायो ।

अब मलाई भनी दिनुहोस् कि हामीले अहिले प्रयोगमा ल्याइराखेको निर्वाचन प्रणालीले सहि नतिजा दियो त ?

यस्तो प्रकृयाको जगमा कसरी सहि जनप्रतिनिधी चुनिन सक्छन ? निर्वाचन प्रणाली र मतदाताहरुका यी र यस्तै किसिमका अपरिपक्कताले नै उहिलेको ग्रीसमा नराम्रा खालका नेताको उदय भएको र राष्ट्रले बिना सित्ती अनावश्यक युद्दमा होमिनुपरेको कुरा प्लेटोले लेखेको Republic मा पढ्न पाइन्छ र करिब त्यस्तै त्यस्तै नियति अहिले हाम्रै देशले पनि भोगिरहेको छ ।

लोकतान्त्रिक चुनावी परिपाटिकै सम्बन्धमा सुकरात भन्छन – चुनावमा उठेका नेताहरुले हामीलाई कसरी भुट्छन ! मानौ कुनै चुनावमा मिठाइ पसलको मालिक र डाक्टर एक अर्काको प्रतिस्पर्धी भएर उठे भने जनताले भोट् कसलाई दिन्छन ?

मिठाइ पसलको मालिकलाई ! किन थाहा छ? किनकी उसले जनतालाई भन्ने छ , हेर त त्यो डाक्टर , त्यसले तिमीलाई सुइ लगाउँछ , तीतो औषधी खान दिन्छ , तिमीले खान खोजेका मीठा मीठा कुरा पनि मुख बार्न लागाउछ , त्यसलाई भोट् नदेउ ।

मलाई हेर त म तिमीलाई गुलियो गुलियो मिठाइ दिन्छु लड्डु दिन्छु मलाई भोट् देउ ।

मिठाइवालाको यस् तर्कमा डाक्टरले भन्ने छ , मैले मान्छेलाई दु:ख त दिन्छु तर केही समय पछी त उनिहरुलाई नै फाईदा हुने हो नि ।

तर जनताले डाक्टरको कुरा सुन्दैनन किनकी उनिहरु पछीको फाइदा हेर्दैनन्। तत्कालको फाइदा मात्र हेर्छन र चुनावमा डाक्टरको हार हुन्छ मिठाइ पसलेको जीत हुन्छ ।

सुकरातको यो प्रसङ्गले नेपालको बर्तमान परिप्रेक्षलाइ बहुतै राम्रो सँग देखाएको छ । आम मानिसहरुलाई तत्कालको फाइदा देखाइदियो भने सजिलै आफ्नो पक्षमा ल्याउन सकिन्छ भन्ने मनोबिज्ञानलाई बुझेर नै कतिपय दलले चुनावको मुखैमा पैसा बाड्ने , भोज खुवाउने, रङ्गीचङ्गी सपना देखाउने काम गर्छन् ।

हामीले यस किसिमको लोकतान्त्रिक परिपाटिलाई आँखा चिम्लेर ठीक ठानिरहेका छौ , यसको सट्टा अब हामी जागरुक हुन जरुरी छ र सहि नेतृत्व चुन्नको लागि लोकतान्त्रिक परिपाटिका कमजोरिहरूलाई हटाउने उपाय पहिल्याउने अथवा नयाँ व्यवस्थाको खोजी गर्नु जरुरी छ ।

Advertisements