२८ पुस, एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पले रुससंग उनी सम्बद्ध आपत्तीजनक व्यक्तिगत र व्यवसायिक जानकारीहरु रहेको भन्ने सूचना गुप्तचर निकायहरुले नै चुहाएको हुनसक्ने बताएका छन्। tramp

राष्ट्पति निर्वाचित भैसकेपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफु विरुद्ध लगाइएका आरोपहरुलाई आक्रोशपूर्वक खारेज गरे। यसअघि सामाजिक सन्जाल ट्वीटरमा सन्देश लेख्‍दै उनले नक्कली समाचारलाई सार्वजनिक गरेका भनी अमेरिकी गुप्तचर निकायहरुको आलोचना गरेका थिए।

डोनल्ड ट्रम्प विरुद्ध लगाइएका र पुष्टि हुन नसकेका आरोपहरुमा मस्को संग ट्रम्पले यौनकर्मीहरुसंग समय बिताएको भिडियो र उनको व्यापारिक चासोमा क्षति पुग्ने जानकारीहरु रहेका बताइएको छ। ट्वीटरमा लेख्दै डोनल्ड ट्रम्पले रुसले आफूबाट कुनै पनि अनुचित फाइदा लिन नखोजेको भन्दै आफ्नो रुससंग कारोबार, ऋण वा कुनैपनि प्रकारको सम्बन्ध नरहेकोमा जोड दिएका थिए।

उनले त्यस्ता आरोपहरुका पछाडि विपक्षीहरुको हात रहेको भन्दै आफूले सहजै राष्ट्रपति निर्वाचन जितेको र एउटा महान आन्दोलनको औचित्य सावित भएकोले दुष्ट विपक्षीहरुले आफ्नो जितलाई होच्याउने प्रयास गरेको बताए। अमेरिकी राष्ट्रपति( निर्वाचित ट्रम्पका भावी प्रमुख प्रशासक राइन्स प्रीबसले एउटा अमेरिकी टेलिभिजनमा बोल्दै त्यस्तो आरोपहरुलाई नितान्त फोहर भनेर खण्डन गरे।

क्रेमलिनले पनि त्यस्तो विवरणलाई कोरा कहानी भनेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले, त्यस्ता आरोपहरुलाई उनकै शब्दमा, दुई देशबीचको सम्बन्धलाई विगार्ने स्पष्ट प्रयास भने। गत हप्ता अमेरिकी गुप्तचर निकायहरुले एउटा प्रतिवेदन सार्वजनिक गर्दै रुसले अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई प्रभावित तुल्याउन साइबर ह्याकिंग अभियान संचालन गरेको जनाएका थिए।

पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो आलोचना गर्ने समाचार संस्थाहरुको आलोचना गर्दै सम्मेलनमा उपस्थित उनीहरुका पत्रकारहरुलाई प्रश्न सोध्न पनि दिएनन्। ट्रम्पले पत्रकार सम्मेलनमा आफ्नो व्यवसायको पुरै नियन्त्रण आफुले आफ्ना दुईजना छोराहरुलाई दिएको घोषणा पनि गरेका थिए।