रत्ननगर (चितवन), १२ असार । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज दुर्लभ एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्दाजी २८–३० वर्षको पोथी गैँडा कुमरोजको कङ्क्रिट मचान नजिकै मरेको जानकारी दिए । मचान नजिकैको घोल (सिमसार) मा राति बिरामी जस्तो भएर बसेको गैँडा बिहान ११ बजे मरेको हो ।

अनुसन्धान गर्दा घाँटी भाँचिएको पाइएको भन्दै निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेले भाले लाग्ने क्रममा भाग्दा लडेर घटना भएको जानकारी दिए । केही दिन अघि मात्रै सोही सामुदायिक वनको इचर्नी खोला नजीकै मरेको गैँडाको बच्चा (केटो) गोहीले खाएको अवस्थामा फेला पारिएको थियो ।

अहिले मर्ने पोथी गैँडा त्यही केटोको आमा भएको अनुमान गएको रिडा गैरेले बताए । चोरीसिकार नियन्त्रण युवा जागरण अभियान (कुमरोज)का अध्यक्ष ईश्वरी पाठक पछिल्लो समयमा गैँडाको राम्रो वासस्थान बन्दै आएको कुमरोजमा कालगति या विभिन्न कारणले गैँडा मरिरहेको भन्दै दुःख व्यक्त गरे । यसतर्फ निकुञ्जले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो गैँडा गणनामा चितवन निकुञ्जमा ६०५ गैँडा रहेको तथ्याङ्क छ । एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ । रासस

Advertisements