सम्माननीय पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई ज्यू,

सर्वप्रथम त तपाइँद्वारा गठित तथा संचालित दल नयाँ शक्तिले आफ्नो स्थापना कालको पहिलो वर्ष पार गरेकोमा हार्दिक बधाई तथा शुभकामना ।

आदरणीय भट्टराई ज्यू, मलाई यति फिका तरिकाले वर्षगाँठको अवसरमा शाब्दिक शुभकामना मात्र दिउँला झैं लागेको थिएन । जतिबेला तपाँई साविकको दलबाट अलग भई नयाँ शक्ति निर्माणमा लाग्नु भो, सबैभन्दा हर्षित र उत्साहित हुने युवा मध्येको म पनि एक थिएँ ।

तर आज परिस्थिति त्यो दिनको जस्तो उत्साहजनक छैन । त्यस्तो किन भएन त भन्ने बारेमा ‘सपना देखाउने तपाइँ’ र ‘सपना देख्ने मैले’ गम्भीरता पूर्वक बिमर्श गर्ने बेला भएको छ । तपाइँ ‘अभियन्ता’ केमा चुक्नु भयो र म ‘अनुयायी’ के मा चुकें, आउनोस् हिसाब किताब गरौं ।

जतिबेला तपाई अर्थमन्त्री हुनुहुन्थ्यो, ‘हाई हाई’ गराइनु भयो । काम पनि ‘हाई हाई’ हुने नै गर्नुभयो । जब तपाइँ प्रधानमन्त्री हुनुभयो, अर्थमन्त्री कालको जस्तो द्रुत र प्रभावकारी काम देखाउन नसके पनि देशलाई बिगार हुने केहि गर्नुभएको थिएन ।

तर तपाइँको अर्थमन्त्री कालको दूरदर्शिताबाट अत्तालिएको एउटा स्थापित ‘पुगिसरी वर्ग’ले तपाइँको एकोहोरो खेदो गरिरह्यो । केहि सम्झौता र समझदारीलाई चाहिनेभन्दा बढी उचालियो र तपाइँलाई राष्ट्रहित विपरीत काम गर्ने प्रधानमन्त्रीको ‘ट्याग’ लगाइदिने कोशिस गरियो । हालसालै तपाइँ विहीन संसदबाट त्यही समझौता पारित भयो भन्ने सुनेको छु ।

तपाइँको कार्यकालमा संविधान जारी हुन नदिन अनेकौं खेलहरु भए । तपाइँले भक्कानिंदै प्रधानमन्त्रको पदबाट राजिनामा दिन बाध्य हुँदाको रातको केहि घण्टा अगाडी अहिलेका कथित नं. एक राष्ट्रवादीहरुले दिनमै ३ र ४ पटक विदेशी मान्छेहरुसँग भेटघाट गरेको मैले बिर्सेको छैन ।

आखिर पर्दा पछाडी जे जस्तो खिचडी पाके पनि जनताले देख्ने गरी तपाइँ संविधान दिन नसक्ने असफल प्रधानमन्त्री ठहरिनु भयो र नैतिकताको आधारमा राजिनामा दिनुभयो ।

यहाँसम्म आइपुग्दा अर्थमन्त्रीबाट पाएको तपाइँको वाहवाही शिथिल बनिसकेको थियो । सामाजिक संजालका ‘पब्लिंग–पोलिङ्ग’ हरुमा तपाइँ एक न.ं को स्थानबाट झरेर धेरै तल पुगिसक्नु भएको थियो । फेरि पनि तपाइँलाई विकास प्रेमी र दूरदर्शी नेता मान्नेको ठूलो जमात मौन बसिरहेको थियो ।

त्यो जमात पहिलो संविधानसभाको चुनावमा पाएको अप्रत्याशित जीतले माओवादीमा उत्पन्न गराएको दम्भ, माओवादी भित्र संस्थागत रूपमा मौलाउँदो आर्थिक चलखेल, समाजका दलाल र कमिसन खोरहरुको माओवादीमा प्रवेश लगायतका घटनाक्रमबाट आजित थियो ।

एमाले–कांग्रेसको ४६ साल पछिको घिनलाग्दो राजनीतिबाट त झनै बढ़ी दिक्दार थियो । साथीभाई माँझ कुरा हुँदा मैले सुन्ने गर्थें, ‘बाबुराम माओवादी छोड़ेर आए भने त म उनलाई नै सपोर्ट गर्थें’ । यस्तो भन्नेहरुमा कांग्रेस–एमाले लगायतका धेरै साथीहरु थिए ।

दोश्रो संविधान सभाको चुनावमा तपाइँ रूपन्देही ४ बाट उठ्नु भो । म सोही ठाउँको बासिन्दा, विकासप्रेमी र दूरदर्शी नेतालाई आफ्नो क्षेत्रबाट उम्मेदवार पाउँदा हर्षित भएँ । म खुलेर चुनाव प्रचारमा त लागिन तर मेरो साथी सर्कलका धेरैलाई प्रत्यक्षतर्फ तपाइँलाई भोट दिन प्रेरित गरें ।

समानुपातिक तर्फ आफ्नो सनातन आस्थाको पाटीलाई भोट दिए पनि हामी केहीले प्रत्यक्ष तर्फ तपाइँलाई भोट दिएका थियौं । चुनाव जित्नुभएन, त्यो अर्कै पाटो तर तपाइँ प्रतिको हाम्रो विस्वास डग्मगाएन ।

विस्वास नडग्मगाउनुका खासखास कारण छन पूर्वप्रधानमन्त्री ज्यू । हामी यस्तो समाजमा बाँच्छौं, जुन समाजलाई हामीले ‘सतीले सरापेको समाज’ पनि भनिरहन्छौं अनि उहि मुखले ‘हामी नै उत्कृष्ठ हौं’ भनी दावी पनि गरिरहन्छौं ।

यो दोहोरो चरित्रमा सदियौंदेखि बाँच्न हामी अभिशप्त छौं । तर सबै यसरी बाँच्न चाहन्नन्, मानिएको श्रापित समाज र श्रापित जीविकाबाट माथि उठ्न चाहन्छन । हो, तिनैले हो तपाइँहरु जस्तो दूरद्रष्टाको साथ र मार्गदर्शन खोज्ने ।

तर भट्टराई ज्यू, समाजको सोंच परिवर्तन गर्ने भन्ने कुरा एक युगको काम होइन रहेछ । यो त निरन्तर प्रक्रिया रहेछ । विडम्बना, यो सामान गतीको प्राकृतिक निरन्तरतामा पनि हामी नेपाली सधै पछाडी छोडिइरह्यौं ।

त्यसो त, वर्षौं वर्षसम्म कसैलाई राजा, मालिक, ख्वामित र मसीहा अनि आफुलाई रैती र दास मानेर बसिरहेको समाजको सोंच सजिलै बदलिन्छ भनेर कल्पना गर्नु नै पनि मूर्खता हुन सक्छ । तथापि एउटा पढेलेखेको, समाज, देश र दुनियाँ बुझेको वर्ग नै यो सोंचको शिकार भैरहँदा निराशा बाहेक केहि उत्पन्न नहुँदो रहेछ ।

उदाहरणको लागि यहाँ एउटा सोंचको वर्णन गर्ने अनुमति चाहन्छु । यही सिक्षित पुस्ता जसले सजिलै भन्छ, ‘लाखौंको जागिर छोडेर फलाना पत्रकार राजनीतिमा आए । डिस्को र ब्यूटीपार्लर जाने उमेरमा एउटी किशोरी राजनीतिमा आइन । अब कायापलट हुन्छ’ ।

यही सोंचले फेरि भन्न सक्दैन, ‘आरामको जीवन अमेरिका, यूरोप वा आफ्नै देशमा बिताउन सक्ने डिग्री र क्षमतालाई एउटा सामान्य परिवारमा जन्मेर पनि अथक परिश्रमले आर्जन गरेको बाबुराम भट्टराई त्यो जीवन लत्याएर साठी पार हुनै लाग्दा पनि रातदिन राजनीतिमा खटिरहेको छ ।

हिंजो व्यवस्था परिवर्तनको लागि आफ्नो टाउकाको मोल तोकाएर लडे, आज व्यवस्था परिवर्तन भएपछि आर्थिक समृद्धिको लागि सालीन संघर्ष गरिरहेकÞा छन । यो कटू सत्य उद्घोष गर्न ठूलो हिम्मत र ईमानदार आत्मा चाहिन्छ ।

तर अहं, भट्टराई ज्यू, केहि स्वकथित ‘एलिट वर्ग’ले जबरजस्ती आफ्ना सनातन सामन्ती सोंचलाई सूचना बनाएर थोपरिरहेको यो समाजको मान्यता कम्तिमा तपाइँको जीवनकालमा त फेरिन्न फेरिन्न । ढुक्क हुनुस ।

फेरि किन यो बुढेसकालमा रातदिन जोतिइरहनु भएको छ ? केहिले तपाइँलाई आरोप लगाउलान, ‘पद चाहिएको छ बाबुरामलाई’ । अर्को थरिले हल्ला मच्चाउलान, ‘भारतको सेवा गरिरहेको छ बाबुराम’ !

भन्नेहरुले त के मात्रै भनेनन् र ? देशलाई मुटुमा राखेर आफ्नो लागि सबथोक पुग्ने र पूर्याउन सक्ने जीवन नै शून्यमा झारी देश र जनताको लागि उत्सर्ग गरेको अथक योद्धालाई विस्वास गर्ने हामीहरुले त्यसरी कहिल्यै भन्दैनौं, कहिल्यै सोंच्दैनौं ।

बरु यसरी भन्छौं ।
तपाइँले देशको आर्थिक अवस्था त बुझ्नु भयो, तर समाजको सोंच र चिन्तन गर्ने तरिका बुझ्न सक्नुभएन । यो समाज अभाव र विभेदमा चुर्लुम्म डुबेको समाज हो, तर दावी गर्छ, ‘हामीलाई सबथोक पुगेको छ’ ।

बच्चालाई आमा बाबुले कथा सुनाएर सुताए झैं यो समाजलाई बाहिरी विश्वको कथा सुनाएर निदाउन हालिएको छ, तर बाहिरी विश्व किन र कसरी निदाउने समाजभन्दा छिटो जाग्यो र छिटो गन्तव्यमा पुग्दैछ भनेर सिकाइएको छैन । त्यो सिकाउने बित्तिकै खाइपाइ आएकाको विरासत गुम्छ, त्यसैले समाजलाई गुमराहमा राखिएको छ । हाम्रो समाज त्यही अँध्यारो भित्र आफुलाई अब्बल दावी गर्नमा व्यस्त छ ।

महत्वाकांक्षाको अर्को नाम राजनीति हो । राजनीतिमा लाग्ने जो कोहि महत्वाकांक्षी हुन्छ, त्यसबाट तपाइँ अछुतो हुनुहोला, पक्कै हैन । तर तपाइँले नेपाली समाज अनुसारको आफ्नो दलको संगठन निर्माण र प्रशिक्षणमा कहिं कतै त्रुटि गरिरहनु भएको छ । बेलाबेलामा भावोत्तेजक बन्नुहुन्छ, आफ्नै विगतलाई बैरीहरुले ‘खुच्चिङ’ भन्ने गरी अभिव्यक्ति दिनुहुन्छ ।

तपाइँलाई धेरै पटक ‘भारतीय दलाल’ भन्ने शब्दले गाली गरिएको छ । नेपाली जनता अधिकांश सोझा छन । पहूँचवाला वर्गले आफ्नो मनगणन्ते सोंच र विरासती मान्यतालाई सूचना र समाचार बनाई फैलाइदिन्छ, तपाइँले त्यो भ्रमलाई चिर्न सक्नुभएको छैन ।

निसन्देहः तपाइँ राजनीतिक संस्कारको जग बसाल्न आउनुभएको हो, तर लाग्छ, भिड खोजिरहनु भएको छ जबकि तपाइँलाई राम्रोसँग थाहा छ, भिडले विवेक प्रयोग गर्दैन । तपाइँ भिडको अगाडी कैलेकांही संविधान जारी भएपछि फेरिएको आफ्नो भूमिका र बसाल्न चाहेको राजनीतिक संस्कार बिर्से झैं गरी गर्जिनुहुन्छ ।

मधेसप्रति तपाइँको माया जायज छ तर संगै पहाडप्रति पनि समभाव चाहिन्छ । एकाथरि पहाडवाद र अर्कोथरि ब्राम्हणवाद जर्बजस्ती रूपमा लागिपरेका छन तपाइँलाई जातीय र क्षेत्रीय राजनीति गर्दै विखंडन ल्याउन खोजेको आरोप लगाउन । तपाइँले ती आरोप र आरोपबाट जनमानसमा उत्पन्न भ्रमलाई पनि चिर्न सक्नुभएको छैन ।

फेसबुक, ट्विटर कतिले चलाउँछन र पूर्व प्रधानमन्त्री ज्यू ? तपाइँको विचार सुन्न मिल्ने गरी इण्टरनेटको सहज पहूँच कतिसंग पो छ र ? जो जसले फटाफट खुल्ने इण्टरनेट चलाउँछन, ती त तिनै वर्ग हुन जसलाई सबथोक पुगेको छ, देशको आर्थिक समृद्धिसँग उनीहरुलाई के मतलब ? तपाइँ कहिं कतै तिनैका बिचमा अल्झिए झैं लाग्छ ।

त्यसैले त तपाइँ खुला चौरमा नभई रिसोर्टहरुमा कार्यक्रम गरिरहनु भएको छ । तपाइँलाई आसेपासे सुविधाभोगीले अल्मल्याइरहेकÞा छन । जुन व्यक्तिले उच्च डिग्री र क्षमताबाट प्राप्त हुन सक्ने भौतिक सुख सुविधालाई लत्याएर जंगलको कठिन बाटो रोज्यो, त्यो मान्छे सुविधाभोगी हुन्छ भनेर कम्तिमा मलाई चाहिं पत्यार लाग्दैन । तपाइँले विस्वास गरेकाले चाहिं तपाइँलाई खेलाउन खोज्छन, बिचार पुर्याउनुहोस ! त्यसमा घरका सदस्य नै किन नपरुन । यो सुकिलो देखिने समाज भित्र भित्रै साह्रै फोहोरी छ ।

दोश्रो संविधानसभा चुनावमा पराजित भए पछिको तपाइँसँगको साक्षातकारमा म पनि उपस्थित थिएँ । जसको घरमा तपाइँ एक रात रहनुभएको थियो, ऊ मनग्ये फाइदा असुलेर अहिले चुनावको मुखमा अर्कै दलमा गइसकेको छ । तपाइँका सहयात्रीहरुमा अवसरवादीको ठूलो हुल छ, चिन्नुहोस ।

संगठन निर्माणमा कमजोर छ भनिएको मान्छे तपाइँ, यस्तै यस्तै मान्छेको झुण्डबाट अन्तरघातको शिकार बानिरहनु पर्ने अवस्थाबाट आफुलाई माथि उठाउनोस । तपाइँले बुझ्नु आवस्यक छ, समाजको सनातन बनोट र त्यही बनोटका ‘आर्कीटेक्चर मीडिया’ बाट बाबुरामलाई निरन्तर खेदिएको हो, बाबुराम लडेको होईन, हारेको होइन । अत्तालिएर उपेन्द्र यादवहरुको बूई चढनु पनि तपाइँलाई आवस्यक छैन ।

तपाइँ गाउँ जानोस । गिटी कुट्ने, भारी बोक्ने, तरकारी र अन्न फलाउने, पशुपंक्षी पाल्नेलाई भेट्नोस । सहरमै पनि नदी किनार तिर जानोस, सुकुम्बासी बस्ती हेर्नोस, गल्ली गल्लीमा नाम्लो समाएर बसेका भरियालाई भेट्नोस् । टेम्पो चालक र बसका खलासीसँग भलाकुसारी गर्नोस् ।

नगण्य संख्यामा बाँकी रहेका उद्योगमा गई मजदूरका पसीना हम्किनोस् । उनीहरुले बुझ्छन तपाइँका कुरा । भोट दिउन नदिउन, परवाह नगर्नोस । ‘एउटा बाबुराम भन्ने नेता हाम्रा पसीना पुछन आएका थिए’ भन्ने सम्झना मनमा छोड्न सक्नोस, तिनले त्यो सम्झना आफ्ना सन्तानलाई सुनाएर संस्कारलाई संस्थागत गर्नेछन । पहुँचवाला वर्गले त तपाइँलाई खेदि मात्र रहन्छ पूर्व प्रधानमन्त्री ज्यू । तपाइँ तिनका कुरामा कृपया नअल्मलिनोस ।

यदि तपाइँको जीवनभरको यो अथक र बदलिंदो भूमिकाको संघर्ष फेरि एकपटक प्रधानमन्त्री बन्नको लागि हो भने कम्तिमा मलाई तपाइँ फेरि प्रम बनेको हेर्ने रहर छैन । तर तपाइँको दर्शन, सोंच र राजनीतिक संस्कार बोकेको अर्को पुस्ताले देश हाँकेको हेर्ने रहर चाहिं छ । तपाइँ नरहनुहोला त्यतिबेलासम्म, तर म तपाइँको साक्षी बनी, राजनीतिक संस्कारले सुशोभित समृद्ध नेपालको दृश्य आँखाभरी समेट्न पाउँछु कि भन्ने आशामा छु ।

पूर्व प्रम ज्यू,म जस्ता लाखौं नेपालीको आशा र भरोसाको केन्द्र बनिदिनोस् । आभारी हुनेछौं ।

बिना पूर्वाग्रह, तपाइँलाई विकासप्रेमी र दूरदर्शी नेता ठानिरहेको तपाइँको प्रशंसक,

हेमन्त गिरी, प्रवासबाट

Advertisements