२६ असोज, धनगढी ।

भारतले लगाएको अघोषित नाकाबन्दी पछि आज पहिलो पटक कैलाली भन्सार नाकाबाट सबैभन्दा बढी तीन लाख ६८ हजार लिटर डिजेल र ४० हजार लिटर पेट्रोल धनगढी भित्रिएको छ ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शरद पौडेलले आज २० हजार लिटर क्षमताका १६ र १२ हजार लिटर क्षमताका चार ट्याङ्कर डिजेल भित्रिएको जानकारी दिए ।

यस्तै २० हजार लिटर क्षमताका दुई ट्याङ्कर पेट्रोल भित्रिएका छन् । नाकाबन्दीपछि भारतीय आयल निगमले पहिलो पटक माग अनुसारको पेट्रोलियम पदार्थ उपलब्ध गराएको नेपाल आयल निगमका कर्मचारीले बताएका छन् ।

truck skating police (3) petrol tanker

यसअघिसम्म माग परिमाणको १० प्रतिशतमात्र पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको भारतीय आयल निगमले आज भने पर्याप्त तेल दिएको निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख पौडेलले बताए ।

सोमबारसम्म निगमको क्षेत्रीय कार्यालयमा आठ लाख लिटर डिजेल र ५६ हजार लिटर पेट्रोल मौज्दात रहेको थियो । इन्धन आपूर्तिमा केही सहज भएपछि आज सुदूरपश्चिमका ६७ वटा पेट्रोलियम पम्पबाट कोटा प्रणालीका आधारमा डिजेल तथा पेट्रोल बिक्री वितरण गरिएको छ ।

मागअनुसारको परिमाणमा भारतबाट पेट्रोलियम पदार्थ आयात हुनसकेमा आगामी चार/पाँच दिनसम्ममा सुदूरपश्चिममा आपूर्ति सहज भई अभाव हट्ने क्षेत्रीय कार्यालयका प्रमुख पौडेलले बताए ।

यसैबीच भारतको उत्तर प्रदेशस्थित बन्थरा डिपोमा पुगेका आयल निगमका २६ ट्याङ्करमा पनि आज पेट्रोलियम पदार्थ लोड भएको जानकारी आएको कार्यालयले जनाएको छ ।