२६ असार, काठमाडौं ।

स्कुल पढ्दाखेरी उनलाई कसैले पाँच माने भन्थे त कसैले ‘घैंटे’ भनेर बोलाउँथे । केटाहरुले ‘पाँच माने’ भन्दा प्राय केटीहरुले घैंटे नै भन्थे । राम्री केटीले त कम्तिमा घैंटे नभनिदिए हुन्थ्यो जस्तो लाग्थ्यो उनलाई ।

तर एक दुई जना हुँदै सबैले घैंटे भन्न थाले । त्यही नाम विस्तारै गाउँभरी चर्चित बन्दै गयो । जसले गर्दा पछि उनको रिस पनि विस्तारै मत्थर हुँदै जान थाल्यो । अनि मन बुझाउन थाले जिक्याएर भनेको त हो नि किन रिसाउनु र ? म साँच्चीकैको घैंटे होइन क्यारे !

तर अहिले यी घैंटेको परिचय फेरिएको छ । उनलाई अहिले सबैले नेता ज्यू, भन्छन् र नमस्कार ठोक्छन् । अनि जव गाउँको विकास गर्ने कुरा आउँछ, सबैले उनकै कुरा मान्छन् । नमान्नु पनि किन ? किनकी उनी अहिले गाँउ पालिकाको अध्यक्ष भएका छन् ।

उनी हुन गुल्मीको कालिगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापा । थापाले नेपाली कांग्रेसको तर्फबाट ४२९८ मत ल्याएर एमालेका टिकाराम ढकाललाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए ।

जनप्रतिनिधि भएपछि गाउँको मुहार फेर्ने उनको धोको छ । कालिगण्डकी, सदरमुकामदेखि टाढाको गाउँपलिका हो । गाउँपालिका भएरै राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अघि बढेको छ । त्यसैले लिंक रोडले छुने भएपछि यातायातको सहजता हुने नै भयो ।

त्यसैले बेद बहादुर चाहन्छन्, अव कृषि, पर्यटन र विद्युतलाई प्राथमिकता दिनु पर्छ र गाउँका युवालाई विदेशिने वातावरणको अन्त्य गर्नुछ । उनले भावि योजना सुनाइरहँदा हामीले घैंटे नाम चाँही कसरी रह्न गयो ? भनेर जिज्ञासा राख्यौं, उनले हास्दै त्यो स्कुले जीवन सम्झे ।

‘स्कुलमा हुने खेलकुद प्रतियोगितामा म कहिल्यै सेकेण्ड भइन । सधै प्रथम नै हुन्थे । भलिबलको त म राम्रो खेलाडि थिए । भलिवल जित्दाका मेडल त मसँग धेरै छन् ।’

‘म गरिव परिवारमा जन्मेको मान्छे, अभावग्रस्त थियो मेरो बाल्यकाल । मज्जाले भात खान कि दशै तिहार कुर्नु पथ्र्यो कि त कसैको श्राद्ध नै आउनु पथ्यो । गाउँमा चिउराको महत्व त्यति बेला जति थियो, अहिले त छँदै छैन । एक माना चिउराको ८ रुपैयाँ पथ्र्यो ।’

एसएलसी दिने बेलामा ख्यालख्यालैमा साथीभाईसँग चिउरा खाने बाजी परयो, बाजी मार्नेले ५ मान निस्तो चिउरा खार्नु पर्ने । कसैले आँट गरेनन् । त्यसको लागि म तम्से । र विना पार्नी ५ माना चिउरा सजिलै खाएँ र बाजी मारे । जित्दा मैले चिउराको पैसा (५० रुपैयाँ) तिर्नु पर्दैनथ्यो ।

मैले मलाई डर थियो, स्वास्थ्यमा कुनै गडबडी हुन्छ कि भन्ने । तर केही भएन । अहिले ती दिन सम्झदा अचम्म लाग्छ ।

Advertisements