२८ साउन, काठमाडौं ।
खाडीबाट बिदामा गएका घरेलु कामदारलाई फर्केर आउन नेपाल सरकारले रोकेपछि चितवनकी सपना घले घर गएकी छैनन् । २० वर्षदेखि खाडीमा हाउसमेडका रूपमा कार्यरत घलेले घरमालिकबाट बिदा पाए पनि गइनन् ।

‘हरेक दुई वर्षको अन्तरालमा नेपाल जान्थें । एक/दुई महिना परिवारसँग बसेर फर्किन्थें । हामीलाई त आफ्नै सरकारले घर जान पनि रोकिदियो,’ उनले कान्तिपुरसित भनिन्, ‘हामीलाई घर मालिकले होइन कि आफ्नै सरकारले पो मानसीक तनाव दिएको छ ।’

उनलाई बिदामा जाँदा मासिक रूपमा कमाउँदै आएको झन्डै ५८ हजार रुपैयाँको काम गुम्ने डर छ । ‘काम सिकें । भाषा सिकें । ओमनी परिवारसँग आफ्नै परिवारको सदस्य जसरी बसेकी छु’, उनले भनिन्, ‘घरकै काम गरेर जेठी छोरीलाई अस्ट्ेरलिया र कान्छीलाई काठमाडौंमा चार्टर्ड एकाउन्टेन्ट पढाएको छु । नेपाल गएर फर्कन पाइन भने उनीहरूको पढाइ अवरुद्ध हुन्छ । म खाडी नआएको भए मेरा छोरीहरू पढ्न होइन कि भाडा माझ्न खाडी आउनुपथ्र्यो ।’ आजको कान्तिपुरमा खबर छ ।

१३ वर्षदेखि ओमनमा कार्यरत लमजुङकी मधु गुरुङ सरकारले लिएको नीति हचुवा र केटाकेटी खेलेजस्तो गैरजिम्मेवार भएको ठान्छिन् । ‘यातना दिने, तलब नदिने र शोषण गर्ने त्यही घरमा फेरि फर्किंदैनन् भन्ने खाडीमा काम गर्ने जोकोहीले बुझेका छन् । समस्या ब्यहोर्नेहरू त जतिसक्दो छिटो उम्केर जान चाहन्छन्,’ गुरुङले भनिन्, ‘जसको घरमालिक राम्रो छ । बस्ने व्यवस्था छ । नियमित तलब दिन्छन् । शुक्रबार छुट्टी दिन्छन् । मानवीय व्यवहार गर्छन् ।

त्यस्तो घर आफैंले रोजेर फेरि आउने हो । त्यस्ता घरमालिक त्यही घरमा काम गर्नेले जति अरूले चिन्न सक्तैन ।’
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले खाडीका साउदी, कुवेत, कतार र यूएई घुमेर फर्केपछि घरेलु कामदारमा जान र बिदामा आएकालाई पुन: श्रम स्वीकृति नदिन निर्देशन दिएपछि वैदेशिक रोजगार विभागले घरेलु कामदारलाई पुन: श्रमस्वीकृति दिन बन्द गरेको छ । ‘मैले तीन पटक पुन: श्रमस्वीकृति लिएर एउटै घरमा काम गर्न आएकी छु,’ गुरुङले भनिन्, ‘म फेरि त्यही घरमा काम गर्न जान्छु भन्दा किन नपाउने ?’

नेपाली महिला समूह, ओमनकी अध्यक्षसमेत रहेकी मोरङकी उमा ढुंगाना कानुनी बाटो बन्द गरेर महिलालाई गैरकानुनी बाटोतिर सरकारले नै धकेलिरहेको ठान्छिन् । ‘सबैका लोग्ने ठीक भइदिएको भए लालाबाला छाडेर आउने रहर कुन महिलालाई होला र ? बल्लतल्ल आएर स्थापित भएकाको रोजगार खोस्ने अधिकार संसदलाई छैन । सरर खाडी फन्को लगाउँदै र सहर घुम्दैमा महिलाको समस्या र अवसर पत्ता लाग्ने विषय होइन,’ उनले भनिन्, ‘कि हामीलाई नेपालमै रोजगारी चाहियो कि हामीले खोजेको रोजगारी गर्न दिनुपर्‍यो ।’

ओमनमा त्यहाँको सरकारी तथ्यांकअनुसार १५ हजार नेपाली कार्यरत रहेकामा ५ हजार महिला छन् । ओमनमा सामाजिक क्लबका रूपमा दर्ता गैरआवासीय नेपाली संघका अध्यक्ष दीपक श्रेष्ठले त्यहाा कार्यरत घरेलु कामदारलाई पुन: श्रम स्वीकृति रोक्ने निर्णय फिर्ता लिनुपर्ने बताए । ‘जो मालिकले नेपाली दूतावासमा गएर आफ्नै घरमा आउने भनेर रकम धरौटी राख्छ । त्यस्ता कामदारलाई भए पनि दूतावासको सिफारिसमा पुन: श्रमस्वीकृति दिइनुपर्छ’, उनले भने ।

ओमनस्थित नेपाली दुतावासले पुन: श्रम स्वीकृति रोक्दा महिला कामदार समस्यामा परेको जनाएको छ । ‘बिदामा जान नपाएको भन्दै गुनासो गर्न महिला कामदार आउने गरेका छन्,’ राजदूत शर्मिला पराजुली ढकालले कान्तिपुरलाई भनिन्, ‘यसका धेरै पक्ष छन् । उपयुक्त निर्णय लिन सरकारलाई सिफारिस गरेको छु

 

Advertisements