२५ भदौ, काठमाडौं ।

एकीकृत माओवादीले राखेको संविधान निर्माणको प्रक्रिया केही दिन स्थगित गरेर असन्तुष्ट दलहरुसँग वार्ता गर्नु पर्ने प्रस्ताव कांग्रेस एमालेले अस्वीकार गरेका छन् । यो सँगै प्रमुख तीन दल बीच नै असमझदारी पैदा हुने संकेत देखिएको छ ।

वार्ता नगरी पेलेरै संविधान निर्माणको प्रक्रिया अघि बढाउँदा संविधान लागु हुन नसक्ने बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका थिए ।

Prachanda sushil kp oli

तर जवाफमा एमाले अध्यक्ष ओलीले अव कुनै पनि बाहानामा संविधान निर्माणको प्रक्रिया रोकिन नसक्ने जवाफ दिएपछि बैठकमा असहज अवस्था आएको बताइएको छ ।

वार्ताका लागि संविधान निर्माणको प्रक्रिया स्थगन गर्नु पर्ने एमाओवादीको प्रस्तावमा एमालेका नेताहरुले ठाडै आपत्ती जनाएको बताइएको छ । कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला नबोलेपनि अन्य नेताहरुले वार्तामा बोलाउँदा नआउनेका लागि संविधानसभाको प्रक्रिया रोक्न नसकिने बताएका थिए ।

बैठकमा कुरा नमिलेपछि एमाओवादी नेताहरु बैठक छोडेर बाहिरिएका छन् भने कांग्रेस एमाले आन्तरिक छलफलमा लागेका छन् ।

वार्ता नगरी पेलेरै अघि बढ्ने अडान कांग्रेस एमालेले नछोडे आफू समेत प्रक्रियाबाट बाहिरिने तयारी एमाओवादीको रहेको बुझिएको छ ।

यस अघि मधेका सबै दलका सभाषद, थारु सभाषद र राप्रपा नेपालले समेत संविधान निर्माणको प्रक्रिया छोडेपछि संविधानसभामा ३  दल मात्र बाँकी छन् । एमाओवादी पनि यो प्रक्रियाबाट बाहिरिएमा संविधाानसभामा २ प्रमुख दल मात्र रहनेछन् ।

अहिले काँग्रेस र एमाले नेताहरुबीच मधेसी दलहरुलाई वार्ताका लागि गरिएको आह्वान र उनीहरुको प्रतिक्रियाका बिषयमा छलफल जारी रहेको बताइएको छ ।

आन्दोलनरत दलले वार्ताको वातावरण बनाउन संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने, सेना परिचालनको निर्णय फिर्ता गर्नुपर्ने लगायतका शर्त राखेका छन् । पटक पटकको आव्हानका बावजुत पनि संवाद सुरु हुन नसकेपछि प्रक्रिया केही दिन स्थगन गर्नेबारे तीन दलमा छलफल सुरु भएको हो ।