१२ भदौ, काठमाडौं ।

सरकारले बाढी प्रभावित क्षेत्रमा एकिकृत स्वास्थ्य शिविर सञ्चालन गर्न निर्देशन दिएको छ । बाढी प्रभावित विभिन्न जिल्लामा यहि हप्ताभित्रै स्वास्थ्य शिक्षासहितको एकिकृत स्वास्थ्य शिविर सञ्चालन गर्न निर्देशन दिईएको स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. राजेन्द्र पन्तले जानकारी दिए ।

उनका अनुसार एकिकृत स्वास्थ्य शीवीरमा स्वास्थ्य शिक्षा, शुद्ध खानेपानी, खोप र पोषण कार्यक्रम, गर्भवती र बालबालिकाको जाँच तथा उपचार लगायतका सेवा दिईनेछ । शिविरका लागि आवश्यक पर्ने औषधिसहितका सामाग्री जिल्ला जनस्वास्थ्य कार्यालयले नै व्यवस्थापन गर्ने र थप आवश्यक परे बिभागले पठाउने पन्तको भनाई छ ।

शीवीर सञ्चालनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्ला दैविक प्रकोप समितिसँग समन्वय गरेर स्थान र क्षेत्र निर्धारण गर्ने स्वास्थ्य सेवा बिभागका महानिर्देशक पन्तले बताए ।

मोरङ, झापा, सुनसरी, रौतहट, बारा, पर्सा, सर्लाही, बाँके, बर्दिया, धनुषा, महोत्तरी, सिराहा, सप्तरीमा प्रत्येक जिल्लामा क्षेत्रगतरुपमा ५–६ वटा शिविर सञ्चालन हुने स्वास्थ्य सेवा बिभागले जनाएको छ ।

बाढीको प्रभाव र प्रकोपको अवस्था मुल्याकंन गरेर दैविक प्रकोप समितिको सिफारिसमा ती क्षेत्रमा शिविर सञ्चालन हुनेछन् । यसअघि बिभागले प्रभावित क्षेत्रमा फैलन सक्ने महामारीको जोखिम न्युनिकरणका लागि भदौ ३ गतेदेखि चिकित्सक सहितको टोली पठाएको थियो ।