२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईसँग आज फेरि भेटेका छन् ।

केही दिन अघि अस्पतालमै गएर भेटेका प्रचण्डले आज फेरि टोखा स्थित भट्राईको निवासमा नै भेटेका हुन् । अप्रेसनपछि आराम गरिरहेका भट्टराई र प्रचण्डबीच झण्डै २ घण्टा लामो छलफल भएको थियो ।

छलफलमा दुई नेताबीच समसामयिक राजनीतिबारे कुराकानी भएको बताइएको छ । भेटमा अध्यक्ष प्रचण्डले पूर्व माओवादी र अग्रगामी धाराहरु बीचको एकतामा जोड दिँदै त्यसका लागि गम्भीर रुपले सोच्न नेता भट्टराईलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

प्रचण्डले देशको जटिल राजनीतिक परिस्थितिलाई विचार गरेर माओवादीहरु एक हुनैपर्ने कुरामा जोड दिँदै सम्पूर्ण राजनीतिक परिस्थितिमा समीक्षा गरेर जान आफूहरु गम्भीर रहेको नेता भट्टराईलाई जानकारी गराएका थिए ।

भेटमा नेता भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै त्यसका लागि छलफललाई जारी राख्ने प्रस्ताव गरेका थिए ।