एस्थर एनगुम्बी

२६ साउन, एलबामा । संयुक्त राष्ट्र सङ्घका अनुसार सन् २०५० तिर पृथ्वीमा मानव सङ्ख्या करिब दश अर्ब पुग्नेछ र यस सङ्ख्यालाई त्यस्तो बिन्दुको रूपमा लिइएको छ जहाँ विश्वका सबैभन्दा महत्वपूर्ण प्रणालीमध्ये धेरै र विशेषगरी कृषि प्रणालीसहित तनावमा पर्नेछन् । यस्तो अवस्थामा विकासशील मुलुकका गरिब किसानसहित समग्र किसानले खाद्यको बढ्दो माग पूरा गर्न कृषि उत्पादकत्व कसरी वृद्धि गर्नसक्छन् ?

पृथ्वीमा मानवलाई प्रभावकारी रूपमा खुवाउन सजिलो हुनेछैन र जलवायु परिवर्तन, हिंसात्मक द्वन्द्व तथा स्वच्छ पानीको उपलब्धताजस्ता अप्रत्यक्ष अवस्थाले यसलाई अझै जटिल बनाउनेछ । तथ्याङ्क तथा बालीको स्वास्थ्य अनुगमन गर्न ड्रोन (चालकविहीन विमान) उपयोग गर्ने कृषिसम्बन्धी नयाँ प्रविधिले सहयोग गर्नेछ । बाली उत्पादन वृद्धिदर दिगो बनाउन सबैभन्दा उपयोगीमध्ये एक विधि जमिनमा भएकै कुरा उकास्दा प्राप्त हुन्छ ।

प्राकृतिक रूपमा माटोमा सूक्ष्मजीवाणु उत्पन्न हुनदिँदा बालीको स्वास्थ्य बलियो बनाउन र उत्पादन सुधार गर्न सहयोग पुग्छ । मल तथा विषादिजस्ता महङ्गा उत्पादन सामग्रीमा भर नपरि यी फाइदाजनक जीवाणुका साथमा क्षय भएका माटो पुनस्र्थापना गरि खेतको उत्पादकत्व वृद्धि गर्न सकिन्छ र यसबाट वातावरण जोगाउँदै बढ्दो जनसङ्ख्यालाई खुवाउनुपर्ने कठिन चुनौती पूरा गर्न सहयोग पुग्नेछ ।

हालै स्थापना भएका धेरै कम्पनीले जीवाणुको क्षमता बलियो बनाउन काम गरिसकेका छन् । उदाहरणको रूपमा सान फ्रान्सिस्कोस्थित ‘बायोम मेकर्स’ले सूक्ष्मजीवाणुबाट फाइदा प्राप्तगरी अङ्गुरको खेतको गुणस्तर तथा उत्पादन सुधार गर्न र ‘वाइन’ उत्पादकलाई सहयोग गर्न डीएनए शृङ्खलाको उपयोग गरेका छन् । बोस्टनस्थित ‘एजटेक’ (कृषिप्रविधि) संस्था ‘इन्डिगो’ले विरुवालाई सुखा वहन गर्न सघाउने सूक्ष्मजीवाणु उत्पादन गरिरहेको छ । फ्लोरिडास्थित ‘पाथवे बायोलोजिक’ले कृषिक्षेत्रमा उपयोगका लागि सूक्ष्मजैविक उत्पादन विकास गरिरहेको छ ।

यस क्षेत्रमा ठूला कम्पनी पनि काम गर्न थालेका छन् । उदाहरणको रूपमा ‘बेयर क्रप साइन्सिज’ले मकै बाली १५ प्रतिशतसम्म वृद्धि गराउने भनिएका सहित सूक्ष्मजीवाणुमा आधारित अनेकौँ उत्पादन बिक्री गरिरहेको छ । अन्य धेरै कम्पनीले यस्तै उत्पादन विकास गरिरहेका छन् र छिटै ती बजारमा आउने अपेक्षा गरिएको छ ।

विश्वविद्यालयहरू निश्चय पनि सूक्ष्मजीवाणुसम्बन्धी अनुसन्धानमा सक्रिय रूपमा सहभागी भइरहेका छन् । उदाहरणको रूपमा अबर्न विश्वविद्यालयमा म मकै तथा कपासका विरुवाको वृद्धि तथा कठिनस्थिति वहन गर्ने क्षमतामा माटोका सूक्ष्मजीवाणुको प्रभावका विषयमा परीक्षण गर्ने समूहको एक भाग भएको छु । निश्चित प्रकारका विषाणु हालिएका माटोमा हुर्काइएको मकैका विरुवाले यस्तो विषाणु नराखिएका माटोमा भन्दा तीन गुणा ठूला आकारमा जरा प्रणाली विकास गरेको मैले आफ्नै अध्ययनमा देखेको छु ।

एक परीक्षणमा हामीले सूक्ष्मजीवाणुबाट उपचार भएका तथा एक नियन्त्रित समूहका विरुवालाई पानी नदिँदा पनि यी विषाणुले विरुवालाई कसरी संरक्षण गर्छ भन्ने पनि मैले देखेको छु । पाँच दिनसम्म पानी नदिँदा पनि उपचार गरिएका विरुवा स्वस्थ रूपमा ठडिएरै रहे भने उपचार नगरिएका विरुवा सुकेर गए ।

प्राकृतिक रूपमा उत्पन्न हुने जीवाणुबाट बन्नु तथा कृत्रिम रसायनको जस्तो जोखिम नहुनु कृषकले सूक्ष्मजीवयुक्त उत्पादन आकर्षक मान्नुको प्रमुख कारणमध्ये एक हो । यी उत्पादनको वर्तमान बजार मूल्य २.३ अर्ब अमेरिकी डलर बराबर छ र आउँदो चार वर्षमा यो पाँच अर्ब अमेरिकी डलरसम्म वृद्धि हुने अनुमान गरिएको छ ।

बढ्दो बाली उत्पादन साना किसानका जीविकाको विषय बनेका विशेष गरि विकासशील विश्वमा कृषि उत्पादनका लागि माटोको सूक्ष्मजैविक उपचारको फाइदालाई बढाइचढाइ गर्नु आवश्यक छैन । यो कुरा विशेष गरि अफ्रिकाका किसानका लागि लागु हुन्छ ।

आज विरुवाको स्वास्थ्यलाई सहयोग गर्न पर्याप्त पोषण तथा सूक्ष्मजीवाणुको अभावका कारण अफ्रिकाका ६५ प्रतिशत माटोको गुणस्तर घटेको छ । माटोको घटेको यो गुणस्तर पुनः बढाउन प्रायः रासायनिक मलको उपयोग गर्दा अफ्रिकी किसानले वार्षिक रूपमा ६८ अर्ब अमेरिकी डलर बराबर खर्च गरेका छन् । अफ्रिकी महादेशको जनसङ्ख्यालाई खुवाउन आवश्यक बाली हुर्काउन किसानलाई सक्षम बनाउन सूक्ष्मजैविक समाधानले परम्परागत माध्यमबाट भन्दा पनि बढी दिगो रूपमा माटोको गुणस्तरमा सुधार गर्न सहयोग गर्नसक्छ ।

सूक्ष्मजैविक समाधान पश्चिमी बजारमा विकास भइरहेको हुँदा अफ्रिकी माटोको सूक्ष्मजीवाणुमाथिको अनुसन्धान सीमित छ । यसमा परिवर्तन हुनुपर्छ । थप लगानीले बैज्ञानिकलाई स्थानीय रूपमा माटो तथा बालीको स्वास्थ्यमा प्रभाव पार्नसक्ने मौलिक क्षमता भएका सूक्ष्मजैविक क्षमता पत्ता लगाउन सक्षम बनाउँछ । यसले कृषि उत्पादकत्वमा सुधार गर्न अफ्रिकाको आफ्नै प्राकृतिक वातावरणलाई क्षमतायुक्त बनाउँछ ।

माटोको अनुसन्धानमा ठूलो लगानीले अफ्रिकी अर्थतन्त्रहरूको फाइदालाई विस्तार गर्नसक्छ । नयाँ खोजले प्याटेन्ट तथा अनुमतिपत्रमा विस्तार गर्छ र यसका कारण अनुसन्धानले नयाँ कृषिव्यवसाय तथा कृषिसम्बन्धित उद्योगलाई प्रोत्साहन दिन्छ ।

यस प्रकारको अनुसन्धानको विस्तार हुने फाइदाको शक्तिका विषयमा म व्यक्तिगत रूपमा वकालत गर्नसक्छु । अबर्नमा माटो सूक्ष्मजीवमा मेरो आफ्नै अनुसन्धानका कारण अमेरिकामा तीनवटा प्याटेन्ट जारी भएका छन् र यस प्रविधिका उत्पादनलाई व्यापारीकरण गर्ने अधिकार प्राप्त गर्न कृषिसम्बन्धी अनेकौँ कम्पनीहरू लागिपरेका छन् ।

मेरो अनुसन्धानबाट अर्जेन्टिना, बोलिभिया, पराग्वे, उरुग्वे तथा भेनेजुएला सहितका मुलुकमा प्याटेन्टका थप निवेदन दर्ता भएका छन् । जारी भएपछि यी प्याटेन्टबाट हुने प्रविधिको विकासले दशौँ लाख किसानलाई फाइदा पुग्नेछ र नयाँ आयको फाइदामूलक स्रोत सिर्जना गर्ने व्यापारिक उत्पादन आउनेछन् ।

पृथ्वीको बढ्दो जनसङ्ख्याको खाद्यमाग पूरा गर्न नयाँ कृषि उत्पादन, प्रविधि र उत्पादकत्व बढाउने अभ्यास आवश्यक पर्छन् । यी नयाँ खोजका लागि फाइदाजनक सूक्ष्मजीवाणुबाट प्राप्त हुने समाधान प्रमुख विषय हुनेछ । मजस्तो कृषि वैज्ञानिकका लागि खाद्य सुरक्षाभन्दा भविष्यका पुस्ताले भोग्ने अन्य कुनै पनि विषय बढी महत्वपूर्ण हुनसक्दैन । विरुवालाई बढी क्रियाशील बनाउने नयाँ उपायको खोजिमा प्राकृतिक प्रविधि नै सबैभन्दा भरपर्दो हुन्छ र यो हाम्रा खुट्टामुनि सुषुप्त अवस्थामा र फेला पर्ने प्रतिक्षामा छ । यो नै राम्रो समाचार हो ।

(एस्थर एनगुम्बी एलबामास्थित अबर्न विश्वविद्यालयका विद्यावारिधिपश्चातको अनुसन्धाता हुनुहुन्छ । उहाँ सन् २०१७ का लागि क्लिन्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटी मेन्टर फर एग्रिकल्चर हुनुहुन्छ । उहाँ सन् २०१५ का लागि एक्पेन इन्स्टिच्युटका लागि फुड सेक्युरिटी भ्वाइस फेलो हुनुहुन्थ्यो । अनुवाद : सुरेन्द्रबहादुर नेपाली) रासस/प्रोजेक्ट सिन्डिकेट