रत्ननगर (चितवन), २ साउन । भरतपुर महानगरपालिका – १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको आज ५० दिन पुग्दासमेत कुनै समाधान नआएको जनाउँदै प्रमुख पदका उम्मेदवारले छिटो निकास दिन माग गरेका छन् ।

दोस्रो चरणको निर्वाचनबाट विजयी जनप्रतिनिधिले गाउँ र नगरसभामार्फत भावी कार्यक्रम सार्वजनिक गरिसक्दा समेत भरतपुर महानगर अन्योलमा छ ।

भरतपुर महानगरको मतगणनाका क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछिको विवाद अहिले सर्वाेच्च अदालतमा पुगेको छ । उक्त मुद्दाका कारण यहाँ जितेर बसेका जनप्रतिनिधिले समेत काम गर्न पाएका छैनन् ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त समूहबाट महानगरपालिका प्रमुखका उम्मेदवार रेणु दाहालले चाँडै निर्णय आए मतदातालाई समेत सहज हुने बताइन्  । उनले भनिन्, “एकदम लामो समय भयो, छिटो टुंग्याउन पाए हुन्थ्यो, दाहालले भन्नुभयो, काम रोकिएको जस्तो महसुस भइरहेको छ ।”

नेकपा(एमाले)बाट महानगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले पनि निर्णय आउन ढिलाइ भएको जनाउँदै चाँडै निर्णय आए राम्रो हुने प्रतिक्रिया दिए । “विधि, परम्परा र अन्तर्राष्ट्रिय अनुभवका आधार सर्वाेच्चले हेर्ला”, ज्ञवालीले संक्षिप्त प्रतिक्रिया दिए ।

अहिले दुवै उम्मेदवार अदालतमा निर्णयको ‘पर्ख र हेर’ को अवस्थामा छन् । निर्वाचन आयोगले पुनः मतदान गर्न दिएको आदेश विरुद्ध भरतपुर–१९ मा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सो मुद्दामा अदालतले हाललाई जे जस्तो अवस्थामा छ सो अवस्थाबाट अगाडि नबढाउनू भनी आदेश दिएपछि प्रक्रिया रोकिएको छ ।

त्यसपछि पटक पटक पेशी तोक्दै आएको अदालतले आजका लागिसमेत पेशी राखिएकामा फेरि सरेको बताइएको छ । मुद्दा हाल्ने स्वयं विकसमेत जे निर्णय आए पनि छिटो निर्णय गर्न आग्रह गर्छन् ।  रासस

Advertisements