२५ भदौ, भक्तपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले तराईमा मधेसी र थारुले गरेको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने बताएका छन ।

राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको चौथो क्षेत्रीय तथा जिल्ला अधिवेशनका अवसरमा भक्तपुरको सल्लाघारीमा आज आयोजित कार्यक्रममा उनले अब आउने संविधान समावेशी र समग्र नेपालीले अपनत्व गर्ने संविधान हुनुपर्ने बताए ।

उनले भने, “संविधान निर्माण प्रक्रिया केही समय रोकेर भएपनि तराईमा विभिन्न नाममा भएको आन्दोलन, मधेसी र थारुहरुले गरेको मागलाई सम्बोधन गरेर मात्र संविधान जारी गर्नुपर्छ ।”

उनले लोकेन्द्रबहादुर चन्दको नेतृत्वले पार्टीमा गरेको बहुमतको दाबी नक्कली भएको आरोप लगाउँदै नेता राणाले भने, “राप्रपाको मूलधार सशक्त र पूर्ण वैधानिक छ, विधानसम्मत छ, बहुमतको दाबी गर्नेको नक्कली बहुमत हो, मूलधारमै बहुमत भएको केही दिनभित्रै प्रमाणित गरिदिन्छौँ ।”

महिला सङ्गठनका अध्यक्ष गङ्गा माक, राप्रपाका केन्द्रीय सदस्य सुरेन्द्रप्रताप शाहलगायतले फुटेर नभई जुटेर अगाडि बढ्नुपर्नेमा पार्टी नेतृत्वलाई सुझाव दिए । रासस