८ मंसिर, काठमाडौं । एशिया क्षेत्रको महिला ट्वान्टी ट्वान्टी विश्वकप छनौट क्रिकेटमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको हो ।
बैंककमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले ३७, ज्योती पाण्डे २१ र काजोल श्रेष्ठले १४ रनको योगदान गरे ।

रोमा थापा ६, नेरी थापा ५ र रितु कनौजिया एक रनमा आउट भए भने, इन्दु बर्मा ६ र कप्तान रुबिना क्षेत्री २ रनमा नटआउट रहे । जवाफी ब्याटिङमा आएको मलेसिया निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ७५ रनमै समेटियो ।

नेपालकी करुणा भण्डारीले ३, सोनु खड्का, रितु कनौजिया, नेरी थापा र सिता रानामगरले एक/एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार चीनको सामना गर्नेछ ।