४ असार, काठमाडौं ।

चुनाव बहिस्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र चुनाव हुन पनि नदिने, भाग पनि नलिने घोषणा गरको राष्ट्रिय जनता पार्टी पनि चुनावमा सहभागि भएका छन् ।

राजपाका नेताहरुले रुपन्देहीमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् भने विप्लव माओवादीका नेताले रोल्पामा उम्मेदवारी दिएका छन् ।

रुपन्देहीका मर्चवारीमाई, सम्मरीमाई, र कोटहीमाईमा राजपाका नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । राजपाका नेता सर्वेन्द्रनाथ शुक्लको निर्वाचन क्षेत्रका गाउँपालिकाका १ सय ११ पदमा राजपाका नेताको स्वतन्त्र उम्मेदवारी परेको छ ।

सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा अशोक कुमार शुक्ल, उपाध्यक्षमा कमालुद्दिन शेख, कोटहीमाई गाउँपालिकाको अध्यक्षमा बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले उम्मेदवारी दर्ता गराएका छन् भने मर्चवारी गाउँपालिकाको अध्यक्षमा राजकुमार सिंह र उपाध्यक्षमा जानकीप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् ।

यस्तै चुनाव वहिस्कार गरेको विप्लव माओवादीले रोल्पाको थवाङमा स्वतन्त्र उम्मेदवारी दिएको हो । थवाङ गाउँपालिकाको अध्यक्षमा नेकपाबाट भक्तबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका हुन् । थवाङलाई विप्लव माओवादीले आफ्नो आधार इलाका मान्दै आएको छ ।