२४ असार, काठमाडौं ।

भुकम्पका कारण क्षतिग्रस्त बनेको रानीपोखरीको पुनर्निर्माणको कामले गति लिन सकेको छैन् । काठमाडौं महानगरपालीकाले गएको तिहारको भाईटीकामा सर्वसाधारणका लागि खोल्ने लक्ष्य लिए पनि आउँदो भाईटीकामा पनि नखुल्ने पक्का भएको छ । पुनर्निर्माणको काम रानीपोखरीबाट शुभारम्भ गरे पनि अहिलेसम्म ५० प्रतिशत काम समेत पुरा हुन सकेको छैन् ।

राजधानीको मुटुमा रहेको रानीपोखरीको पुनर्निर्माणको काम कछुवाको गतिमा अगाडी बढ्दा पुणर्निर्माण कहिले सम्ममा सकिने अत्तोपत्तो छैन् । भुकम्पबाट क्षतिग्रत संरचनाहरु पुणर्निर्माण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले २ हजार ७२ साल माघ २ गते रानीपोखरीबाटै शुरु गर्र्नेे उद्घोष गरेकि थिइन्। काठमाडौं महानगरपालीकाले वल्ड वाईड, कँडेल र केएकेजीलाई संयुक्त रुपमा १ बर्ष अगाडी रानीपोखरी पुनर्निर्माणको ठेक्का दिएको थियो ।

१५ महिनाभित्र रानीपोखरी पुनर्निर्माणको सम्पुर्ण काम सकाएर काठमाडौं महानगरपालीलाई जिम्मा दिने भनिए पनि अहिले सम्म ५० प्रतिशत काम पनि हुन सकेको छैन् । काठमाडौं महानगरपालीकाले रानीपोखरीको बिच भागमा रहेको बालगोपालेश्वरको मन्दिरलाई मनोमानी ढङ्गबाट बनाउन लागेको भन्दै युनेस्कोले रोक्न नेपाल सरकारलाई पत्रचार गरेपछि पुणर्निर्माणको काम अहिले सम्म अन्योलमै छ ।

अहिले बालगोपालेश्वर मन्दिर बनाउन पुरातत्व विभागलाई जिम्मा दिइएको छ । विभागले १ करोड ६० लाखको लागतमा हुबहु रानीपोखरीको ऐतिहासिक बालगोपालेश्वर मन्दिर बनाउने जानकारी दिएको छ । अवको पाँच महिनाभित्र रानीपोखरी बनिसक्ने दाबी समेत विभागले गरेको छ । उता काठमाडौं महानगरपालीकाले भने बालगोपालेश्वर मन्दिर बाहेकका सम्पुर्ण भौतिक पुर्वाधारको पुनर्निर्माणको ६० प्रतिशत काम पुरा भएको दाबी गरेको छ भने लक्ष्य अनुसार काम भने नभएको स्वीकार गरेको छ ।

रानीपोखरीको चारैतिर बगैंचा बनाउन पर्खाल लगाउने र पोखरीमा भएको माटो झिक्ने काम निकै सुस्त रहेको छ । अझ बनाउन लागेको संरचनामा काम अगाडी बढ्न नसक्दा ठुलठुला झारपातले पुरिएका छन् । अठारौ सार्क सम्मेलनका लागि रानीपोखरीमा करोडौ खर्च गरेर राखेको पानी फोहोरा सहितको फाउन्टेन पनि वेवारिसे अवस्थामा रहेको छ ।