२७ भदौ, काठमाडौं ।
राष्ट्रपति डा. रामवरण यादवले सबैलाई समेटेर संविधान जारी गर्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् । संविधान निर्माणको अन्तिम क्षण भएकाले राष्ट्रिय एकता बलियो हुनेगरी सबैलाई समेटेर जानुपर्ने सुझाब उनको छ ।

संविधानसभाको प्रक्रिया दुई दिन रोक्दा पनि आन्दोलनरत दलसँग वार्ता हुन नसकेपछि राष्ट्रपति डा. यादवले प्रधानमन्त्रीलाई टेलिफोन गरेर सबैलाई समेट्न सुझाब दिएका हुन् । डा. यादवले अलिकति ढिलोचाँडोले केही नहुने भन्दै दुई दिनको सट्टा चार दिन थपेर भए पनि असन्तुष्टसँग वार्ता गर्न सुझाब दिएको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।

rambaran sushil phone

‘यो संविधान निर्माणको अन्तिम क्षण हो । राष्ट्रिय एकतालई मजबुद बनाउने गरी सबै वर्ग, समुदायलाई समेटेर संविधान निर्माणका लागि अग्रसर भएर पहल गर्नुस् भन्नुभएको छ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै दाहालले भने, ‘अलिकति ढिलोचाँडोले केही हुँदैन । दुई दिनले भएन भने चार दिन थप्नुस्, तर यो अवसरलाई सदुपयोग गरेर असन्तुष्ट सिंगो समुदायलाई पनि समेट्नुस् ।’

दुई दिनमा भएका अनौपचारिक प्रयासलाई राष्ट्रपतिले सकारात्मक भनेका थिए । आन्दोलन हिंस्रक र अराजक बन्न नहुने पनि राष्ट्रपति डा. यादवले बताएका छन् । आन्दोलन शान्तिपूर्ण बनाए सेना फिर्ता गर्न सरकारलाई आपत्ति नहुने सन्देश दिन पनि राष्ट्रपतिले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् । दाहालका अनुसार जवाफमा प्रधानमन्त्रीले भनेका थिए, ‘अरू दलसँग छलफल गरी समाधानको पहल गर्छु ।’ आजको नयाँ पत्रिकामा खबर छ ।