एजेन्सी । चीनले नोबल पुरस्कार बिजेता लिउ सिआवोको विदेशमा उपचार गर्न अनुमति नदिएका कारण मृत्यु भएको भन्ने आरोप ठाडै अस्विकार गरेको छ ।

लिउको निधन हुनुमा चीन जिम्मेवार रहेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा चर्को आलोचना भएपछि उसले यस्तो प्रतिक्रिया दिएको हो । चीनले यो आन्तरिक मामिला भन्दै अरु देशलाई गलत टिप्पणी नगर्न पनि चेतावनी दिएको छ ।

राज्यद्रोह गरेको अभियोगमा ११ वर्षे जेल सजाय काटिरहेका लिउको हिजो ६१ वर्षको उमेरमा चीनको एक अस्पतालमा निधन भएको थियो । लिउलाई सन् २०१० मा नोबेल शान्ति पुरस्कार दिने नोबल समितिले पनि उनको मृत्युको मुख्य जिम्मेबार चीन रहेको आरोप लगाएको छ ।

कलेजो क्यान्सरबाट पीडित लिउलाई गत महिना जेलबाट उत्तर पूर्वी शहर शेङयाङको एउटा अस्पतालमा सारेर कडा सुरक्षाका बीच उपचार गरिएको थियो ।

पश्चिमा देशहरुले उपचारका लागि देशबाहिर लैजान आग्रह गरेपनि चिनियाँ चिकित्सकहरुले यात्रा गर्न नसक्ने अवस्थामा रहेको भन्दै बाहिर लैजान दिएका थिएनन् ।