बोमलाल गिरी ।

 १५ साउन, काठमाडौं ।

झण्डै एक वर्ष अघि एमाओवादी भित्र आर्थिक अनियमितताको कुरा निक्कै उठ्ने   गर्थ्यो । पार्टी नेतृत्वले लडाकुको रकम हिनामिना गरेको विषय होस् वा नेताहरुले प्रशस्तै पैसा कमाएर काठमाण्डौमा घर घडेरी र जग्गा जमिन जोडेको विषय । तर अहिले यी कुराहरु सबै ओझेलमा परेका छन् ।

नेताहरुको आलोचना सर्वसाधारणले मात्र होइन, पार्टी नेता र कार्यकर्ताले नै उठाउने गर्थे । पार्टी कार्यालय पेरिसडाँडामा झण्डै ६÷७ महिना पहिले बसेको केन्द्रीय समिति बैठकमा पनि नेताहरु सुविधाभोगी भएको र पैसा कमाउने कुरामा मात्र ध्यान दिन थालेको आवाज उठ्यो ।

maoist-office. perisdanda jpg

त्यही कुरा अहिले सबै पदबाट राजिनामा दिएका नेता लोकेन्द्र विष्ट माथि पनि उठेको थियो । सम्पत्ति छानविन गर्न नेताहरुले नै आवाज उठाए पछि विष्टले पनि जिंगिदै छानविन प्रस्ताव स्वीकार गरे ।

तर उनको एउटा सर्त थियो । उनले भनेका थिए , ‘छानविन नै गर्ने भए सबै नेताको छानविन गरौं, कहाँ कुन नेताको सम्पत्ति कति रहेछ त्यो पनि थाहा हुन्छ । सबैलाई एकै ठाउँमा मुछ्न पाइन्न ।’

lokendra bista maoist

उनले त्यति मात्र होइन, अमिक शेरचनको संयोजकत्वमा गठित सम्पत्ति छानविन अयोगको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरे । तर सबै नेतालाई एउटै घानमा हाल्ने विष्टको प्रस्ताव पछि सबै मुखामुख भए । अनि सबैको मुखमा बुजो लाग्यो । त्यसपछिका दिनमा नेताको सम्पत्ति छानविन गर्ने कुरा नउठेको माओवादी श्रोतले जनाएको छ ।

माओवादी नेताहरु सुविधाभोगी भएको, पैसा कमाउने तिर ध्यान दिएको र अनियमित तरिकाले समेत पैसा कमाउने गरेको भन्दै पार्टी भित्रैबाट चर्को आवाज उठेपछि नेता अमिक शेरचन र लोकेन्द्र विष्टकै संयोजकत्वमा दुईवटा छानविन आयोग गठन गरिएको थियो ।

maoist meeting

दुबै आयोगले प्रतिवेदन पार्टीलाई बुझाई पनि सकेका छन् । तर अहिलेसम्म ती प्रतिवेदन न सार्वजनिक गरिएको छ, न त आयोगले सिफारिस गरेका नेताहरुमाथि कारवाही र छानविन नै भएको छ ।

आयोगले अनियमित तरिकाले सम्पत्ति कमाएको भन्दै आधा दर्जन एमाओवादीका नेतालाई कारवाही र एक दर्जन नेताको सम्पत्ति पुनः छानविन गर्न सिफारिस गरेको थियो ।

Lokendra Vs Prachanda

तर अघिल्लो पटक सभासद् भएका केन्द्रीय सदस्य शिवचन्द्र कुसवाह कारवाही भोग्नु अघि नै एमाओवादी छोडेर राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा प्रवेश गरेका छन् । अरु नेतामाथि कारवाही र सम्पत्ति छानविन केही पनि हुन सकेको छैन । अहिले यो विषय तै चुप मै चुप भने जस्तै भएको छ ।

यो पनि हेर्नुस्

प्रचण्डलाई लोकेन्द्रको सम्बन्ध विच्छेद पत्र ! (पूर्ण पाठ उनकै हस्ताक्षर सहित)