२५ भदौ, काठमाडौं ।

प्रमुख तीन दल संविधान निर्माणको प्रक्रिया २ दिन स्थगित गरेर वार्ता शुरु गर्न सहमत भएको बताइएको छ । मधेशवादी सबै दलका सभाषद, राप्रपा नेपाल लगायतका महत्वपूर्ण दल संविधासभाको प्रक्रियाबाट बाहिरिएपछि तीन दलले प्रक्रिया २ दिन स्थगित गर्ने तयारी गरेका हुन् ।

यस अघि एकीकृत माओवादीले राखेको संविधान निर्माणको प्रक्रिया केही दिन स्थगित गरेर असन्तुष्ट दलहरुसँग वार्ता गर्नु पर्ने प्रस्ताव कांग्रेस एमालेले अस्वीकार गरेका थिए । तर भारतीय राजदुतले नेताहरुसँग भेटेपछि माहौल बदलिएको छ ।

Kp-oli-with-ranjit-rey

फाइल तस्विर

संघीयताको विषयमा मधेशमा तनाव कायम रहेको समयमा भारतीय राजदुत रञ्जित रेले प्रमुख दलका नेताहरुसँगको भेटलाई तीव्रता दिएका छन् । यसैक्रममा उनले आज विहान एमाले अध्यक्ष केपी शर्मा ओली, एमा‌‌ओवादी अध्यक्ष प्रचण्डलाई उनीहरुकै निवाशमा भेटेका थिए ।

भेटपछि एमाले अध्यक्ष ओलीले राजदूत रेसँग संविधान जारी गर्ने विषयमा कुराकानी भएको जानकारी दिए । तर भारतीय राजदुतले मधेश लगायतका शक्तिलाई बाहिर राखेर संविधान जारी गर्न सकिन्छ ? भनेर प्रश्न गरेको बताइएको छ ।

Prachanda perisdanda meeting

उता लाजिम्पाट पुगेर पनि राजदुत रे ले प्रचण्डलाई सहमति खोजेर मात्र संविधान जारी गर्न आग्रह गरेका थिए । दुवै नेतासँग संविधान जारी गर्न हतार गर्दा मधेशमा देखिएको तनावले कुन रुप लिन्छ भनेर भारतीय राजदुतले चासो राखेका थिए । जवाफमा प्रचण्डले आफूहरु वार्ताकै पक्षमा रहेको र असन्तुष्टलाई साथमा लिएर जान चाहेको बताएका थिए ।

अहिले काँग्रेस र एमाले नेताहरुबीच मधेसी दलहरुलाई वार्ताका लागि गरिएको आह्वान र उनीहरुको प्रतिक्रियाका बिषयमा छलफल जारी रहेको बताइएको छ ।

आन्दोलनरत दलले वार्ताको वातावरण बनाउन संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने, सेना परिचालनको निर्णय फिर्ता गर्नुपर्ने लगायतका शर्त राखेका छन् ।

पटक पटकको आव्हानका बावजुत पनि संवाद सुरु हुन नसकेपछि प्रक्रिया केही दिन स्थगन गर्नेबारे तीन दलमा छलफल सुरु भएको हो ।