काठमाडौं, २८ बैशाख । नेपाली लेग स्पिनर सन्दिप लामिछाने इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो र एक्ला क्रिकेटर हुन् ।

आइपीएल क्रिकेटप्रेमीले त हेर्ने नै भए सन्दिपको आवद्धताले नेपालमा पनि आइपीएलको क्रेजलाई एउटा उचाइ प्रदान गरेको छ । आइपीएलको ११ औ संस्करण अर्थात् सन् २०१८ मा तत्कालीन दिल्ली डेयर डेभिल्समा आवद्ध सन्दिप यसपटक पनि दिल्लीमा अनुबन्धित रहेर आइपीएल सकेका छन् । अझै एक वर्ष दिल्लीले नचाहँदा सम्म उनी दिल्लीबाट बाहिरिन सक्दैनन् ।

२० लाख भारतीय रुपैयाँ लिएर दिल्लीमा अनुबन्धित सन्दिपले यस सिजन ६ खेल खेले । टिमले खेलेको १६ खेलमध्ये उनी १० खेलमा त बेञ्चमै बसे । यसपटक उनले जम्मा ८ विकेट लिए । यसपटक उनले विग विकेटका रुपमा किँग्स इलाभेन पञ्जावका क्रिस गेलको विकेट लिए । अघिल्लो सिजन उनको डेब्यु थियो । आइपीएलमा पहिलो पटक प्रवेश पाएका सन्दिपले अघिल्लो संस्करणमा ३ म्याच मात्रै खेल्न पाएका थिए ।

जसमा उनले जम्मा १२ ओभर बलिङ गरेर ५ विकेट लिँदा ७२ रन दिएका थिए । यसरी हेर्दा यसपटक उनको रेकर्ड सुधारोन्मुख देखिन्छ । यसपटक उनले खेल्न पाएको खेल संख्या दोब्बर भएको छ भने । विकेट पनि बढेको छ । आइपीएलको दुई संस्करण खेल्दा सन्दिपले जम्मा ९ खेल खेल्दै १३ विकेट लिएका छन् ।

यसपटक दिल्ली आइपीएल इतिहासमै पहिलो पटक क्वालिफायरमा पुग्यो । तर फाइनल प्रवेश गर्ने सपना पुरा गर्न सकेन । दिल्ली दोस्रो क्वालिफायरबाट बाहिरिएपछि उनी भोली आइतबार काठमाडौं आउँदैछन् ।