काठमाडौं, २८ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट खेल्न गएका नेपाली लेग स्पीनर सन्दिप लामिछाने आइतबार काठमाडौं फर्कने भएका छन् । उनी आवद्ध टिम दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायरबाट बाहिरिएपछि लामिछाने स्वदेश फर्कन लागेका हुन् ।

उनी दिउँसो साढे २ बजे एयर इण्डियाको विमान मार्फत् काठमाडौं आइपुग्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए । आइपीएल क्रिकेट जारी संस्करणमा जम्मा ६ खेल खेलेका लामिछानेले ८ विकेट लिएका थिए ।

आइपीएलको १२ वर्षे इतिहासमा टिमले पहिलो पटक प्लेअफमा स्थान बनाउँदा सन्दिपले भने इलिमिनेटर र दोस्रो क्वालिफायर कुनै खेल पनि खेल्न पाएनन् । किँग्स इलाभेन पञ्जावविरुद्धको खेलमा क्रिस गेललाइ आउट गर्नु नै सन्दिपको विग विकेट थियो ।