२९ साउन, सिन्धुली । ‘साँझ अबेरसम्म हामी दुबै काम गरेर फर्केका थियौं। छोराछोरी खाना खाएर सुतिसकेका थिए। मलाई पनि सन्चो थिएन। करिब १० बजेतिर कटेजको ढोकै निर सुतेँ। पानी हल्का परिरहेको थियो। कामले थाकेकाले निदाएँ। उनी पनि सुतेकी थिइन् तर, मध्ये रातमा बज्रपात नै आइलाग्यो। अंगालोबाट मुटुका टुक्रा खोसिएको कुरा पत्तै भएन,’ शनिबार अस्पतालमा भेटिएका तीन छोरा र श्रीमती गुमाएका उदय खड्काले वेदना सुनाए।

खड्काको जीवनमाथि अपत्तयारिलो बज्रपात भयो। शुक्रबार साँझबाट परेको अविरल वर्षासंगै आएको पहिरोले संगैं सुतेका तीन छोराछोरीसंगै जीवन साथीलाई गुमाउनु परेको पीडा सुनाउँदै खड्काले भने, ‘मलाई काल आएन्। अब जीवन नै उजाड भयो। कसरी जीवन ज्यूने ? दुःख र मिहिनतले हुर्काएका छोराछोरीको उद्धार गर्न समेत सकिन। श्रीमतीलाई बोलाउँन पनि सकिन। मध्येरात भएकाले शाहारा पनि पाउन सकिन्,’ उनले थपे। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

शनिबार करिब दुई बजे टहरोमाथिबाट आएको पहिरोले टहरो पुर्दा कमलामाई नगरपालिका ६ स्थित २ नम्बर बजारका खड्काको ३२ वर्षीया श्रीमती दुर्गा खड्का, १५ वर्षकी छोरी शोभा खड्का, १० वर्षका छोरा अनिस खड्का र ८ वर्षका मनिस खड्काको एकै चिहान भएको थियो। ‘एउटै खाटमा सुतेका थियौं। म ढोका पट्टी थिए। श्रीमती र छोराछोरी भित्तापट्टी थिए। एक्कासी पहिरो आएछ। हामीलाई पुरी सकेपछि मात्र मैले थाहा पाएँ। छोराछोरीले त त्यो पनि पत्तो पाएनन्। उनीहरुले ऐया पनि भन्न पाएनन्,’ पहिरोबाट बचेका उदयले भने।

उदय स्थानीय होटलमा मजबुरी गथ्र्ये। उनकी श्रीमती (दुर्गा) छोराछोरीको लालन पालनका लागि जिल्ला सदरमुकाम माढीका सम्पन्न वर्गका घरघरमा पुगेर बिहान बेलुका भाँडा माज्ने काम गर्थिन्। आफ्नो नाममा एक टुक्क्रा घडेरी थिएन्। झण्डै २०३५ साल तिर उदयका बुबाले जिल्ला सदमुकाम भर्खरमात्र बस्दै गर्दा जंगल फाँडेर बसेको जमिन पछि जनसेवा पुस्ताकालयले आफ्नो पर्ने भन्दै त्यहाँबाट हट्न भनेको थियो।

‘छाडेर जाने ठाउँ थिएन्। दुःख सुख गरेर त्यही बसेका थियौं। आमा दाजु पनि त्यहाँनै बस्नु हुन्थ्यो। दाजुको पनि मजबुरी गर्ने क्रममा अघिल्लो वर्ष नै मृत्यु भएपछि आमा अर्कैको घरमा भाँडामाझेर बस्न थाल्नु भयो। म मेरो परिवारसहित बस्दै आएको थिएँ,’ उनले थप दुःख सुनाए, ‘दैवको लिला २०७२ साल बैशाख १२ गतेको भुकम्पले भएको सानो घरपनि भत्कायो। अझै घर बनाएर बस्ने सपना थियो तर अचानक जीवनका सबै खुसीहरु टुटे। अबत केलाई चाहियो घर। केलाई चाहियो घडेरी ?’

उदयको परिवार बस्ने स्थानमाथि नेपाल प्रहरीको आवस भवन छ। करिब १० मिटरको दुरीमा रहेको प्रहरीको आवस निर्माण गर्दा खनेर थुपारीएको माटो उदयको परिवारको काल बन्यो। शनिबार त्यही माटो बगेर आउँदा परिवारकै एकै चिहान भयो,’ स्थानीय गुजेश्वरलाल श्रेष्ठले दुःख व्यक्त गर्दै भने। हामीले करिब बिहान ३ बजेमात्र घट्नाका बारेमा थाहा पाएऔं। ‘खबर पाउन साथ पुग्दा उनको (उदय) को परिवारमा चार जनाको मृत्यु भइसकेको थियो। वर्षा रोकिएको थिएन्। प्रहरी, अन्य स्थानीय रेडक्रसकर्मीलाई खबर गर्दा गर्दै ढिला भइसकेको थियो। उद्धारको निक्कै प्रयास गरियो। तर पहिरोमा पुरीएकालाई उद्धार गरेर सिन्धुली अस्पताल पु¥याउँदा चारै जनाको मृत्यु भइसकेको प्रहरीले जनायो,’ श्रेष्ठले भने।

घट्नाका बारेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख टिकाबहादुर केसीले यो प्राकृतिक कुरा भएको बताए। उनले उक्त स्थानबाट पहिले पनि भल बग्ने गरेको भएपछि यो पटक क्षति भएको बताए। घट्नापछि प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले काजकिरिया खर्च बापत २५ हजार रुपैयाँ र थप राहात प्रदान गर्ने जनाएका छन्।