“एकातर्फ फाइदा छ भने अर्को तर्फ बेफाइदा!”

-कुशल श्रेष्ठ

हामीले सँधै महशुस गर्दै आइरहेकै कुरा हो, कुनै पनि बासना वा गन्धले हाम्रो शरीर र दिमागमा शक्तिशाली प्रभाव पारिरहेको हुन्छ! बाटोमा हिँड्दै गर्दा कतैबाट मीठो सुगन्ध आयो भने, मनै चङ्गा हुन्छ, फोहोरको दुर्गन्धले नाक खुम्च्याँउछ।

कुनै वास्नाले जीवनका ती पुराना पल झल्यास्स सम्झाइदिन्छन्, कुनैले निकै आत्मीय भाव पैदा गरिदिन्छ। बिहान बिहान कोठामा मिठो अगरबत्तीको बास्नाले त झन् शरिरनै हलुको बनाउँछ, सुघिँरहौं झै बास्नाले लठ्ठ बनाउँछ।
Incense (3)

कुरा रह्यो अगरबत्तीको! हजारौँ वर्ष अगाडि देखि नै एसिया र दक्षिणी अफ्रिकामा अगरबत्तीको विशेष महत्व रहँदै आएको छ। धार्मिक तथा आध्यात्मिक समारोहहरूमा धूपको प्रयोगले शारीरिक तथा मानसिक पक्षमा फाइदा गर्दछ भन्ने विश्वास पनि रहेको छ।

यसको धार्मिक महत्व कस्तो रहेको छ त?

धेरै जस्तो धर्म तथा अध्यात्मविद्का अनुसार, धूप एक माध्यम हो- हाम्रो दिमागलाई अदृश्य तत्वहरूसँग मेल गराउनको लागि। अरूको कदर गर्न सिकाउने शक्ति हो अनि स्वर्ग र पृथ्वीलाई जोड्ने अदृश्य शक्तिको मार्गदर्शक हो। यसले हामीलाई सद्भाव र नैतिकताको पाठ सिकाउँदछ।

Incense (1)अगरबत्तीको प्रयोग गर्ने चलन हिन्दु धर्मबाट स्थापित भएको विश्वास गरिन्छ, पछि बुद्ध धर्मावलम्बीहरूले पनि ध्यान गर्नको लागि धूपको प्रयोग गरिएको पाइन्छ। भौतिक तथा सांसारिक दुनियाँभन्दा भिन्न अकल्पनीय स्वर्गीय दुनियाँ जहाँ सबै कुराको अर्थ अनि महत्व छर्लङ्ग हुन्छ, त्यस संसारमा प्रवेश गर्नको लागि अगरबत्तीको सुगन्धले मूख्य भूमीका खल्ने पनि कतिपय धार्मिक गुरुहरूको मान्यता रहेको छ।

भनिन्छ, जब मन, मुटु र मस्तिष्क स्वच्छ, सुन्दर र निश्चल हुन्छ, तब सबै कुराको अर्थ बुझ्न सकिन्छ। संसार के हो, धर्म के हो, कर्म के हो, जीवनको अर्थ के हो, अनि मृत्युको अर्थ के हो? यो सबै कुराको ज्ञान हुनु नै बुद्धत्व पाउनु हो। र हाम्रो मन, मुटु र मस्तिष्कमा सुगन्ध फैलाउने यो अगरबत्तीले पनि ठ्याक्कै यस्तै काम गर्दछ भन्ने धार्मिकशास्त्रीहरूको विश्वास रहेको छ।

विज्ञानले धूपलाई कसरी लिने गर्दछ?

धर्म, अध्यात्म, स्वर्ग, नर्क अनि बुद्धत्वको महत्व आफ्नो ठाँउमा छँदै छ, तर विज्ञानले धूप र यसको बासनालाई भने फरक ढङ्गले व्याख्या गरेको छ। हो, धूपको गन्धले मानिसको दिमागलाई शान्त, आनन्द र स्फूर्त राख्छ, तर शारीरिक रूपमा धूपको धुँवाले फाइदा भन्दा बढी बेफाइदा गर्ने वैज्ञानिकहरू बताउँछन्।

Incense (2)

सन् २००८ मा गरिएको एक खोजको अनुसार, धूपको धुँवाले क्यान्सर जस्तो खतरनाक स्वास्थ्य समस्या ल्याउन सक्ने पनि देखिएको थियो। १२ वर्षसम्म चीनका करीब ६० हजार व्यक्तिहरूमा गरिएको अनुसन्धानले धूपको धुँवामा क्यान्सर पैदा गराउने रसायनहरू हुन्छन् भन्ने कुराको पुष्टि भएको थियो।

ती व्यक्तिहरूमध्ये जसले अगरबत्तीको प्रयोग दिनहुँ गर्दथे, तिनीहरूमा फोक्सोको क्यान्सर, अनि माथिल्लो स्वासप्रश्वास प्रणाली जस्तै घाँटी र मुखको क्यान्सरको लक्षण देखा परेको थियो। यो त पहिले भएको अनुसन्धानको नतिजा थियो, तर हालै भएको नयाँ अनुसन्धानले त झन् त्योभन्दा पनि साँचो र ठेट रहस्य पत्ता लगाएको छ।

चीनका वैज्ञानिकहरूले गरेको यो अनुसन्धानले, अगरबत्तीको धुँवा चुरोटको धुँवा भन्दा धेरै गुणाले खतरनाक हुने पनि निष्कर्ष निकालेका छन्। यो अनुसन्धानको नतिजाले एसियाका केहि देशहरू, जस्तै नेपाल, भारत, जापानमा अन्यौलको वातावरण सिर्जना गर्न सक्दछ, जहाँ घर अनि धार्मिक समारोहहरूमा अगरबत्ती बाल्ने परम्परा रहेको हुन्छ।

“घरभित्र धूप बाल्दा हुने स्वास्थ्य समस्याको बारेमा मानिसहरूमा अझ बढी जानकारी दिनुपर्ने हुन्छ।”, ‘साउथ चाइना युनिभर्सिटी अफ टेक्नोलोजी’का अनुसन्धानकर्ता ‘रोङ्ग झु’ले एक पत्रकार सम्मेलनमा भने।

अनुसन्धानकर्ताहरूले चुरोटको धुँवासँग दुई प्रकारको धूपहरूको परीक्षण गरेका थिए। चुरोटको र धूपको धुँवाले ब्याक्टेरिया र चीनमा पाइने मुसाहरूको भ्रूणमा कस्तो असर पर्दछ भनेर परीक्षण गरिएको थियो। ती दुई धूपहरूमा प्रचलित सामाग्रीहरू प्रयोग गरिएको थियो- अगर र चन्दन, जसले धूपमा सुगन्ध थप्ने काम गर्दछ।

धूपको बासनाले आनुवंशिक पदार्थ र डि.एन.ए हरूमा उत्परिवर्तन ल्याउँदछ, जसलाई ‘म्युटाजेनिक्स’ (Mutagenics) भनिन्छ। चुरोटको धुँवासँग दाँजो गरेर हेर्दा, धूपको धुँवा जीवित कोषहरूको लागि अनि प्राणिको डि.एन.ए.को लागि पनि विषालु हुने देखिएको छ। अगरबत्तीहरूमा हुने ६४ वटा यौगिकहरू मध्ये २ वटा यौगिकहरू चाहिँ सबैभन्दा विषालु हुने बताइन्छ।

सुन्दा नराम्रो लाग्न सक्छ तर जो व्यक्तिहरू दिनहूँ धूपको धुँवामा रम्ने गर्छन्, ती व्यक्तिहरूमा ‘म्युटाजेनिक्स’ (Mutagenics), ‘जेनोटक्सिन्स’ (Genotoxins), ‘साइटोटक्सिन्स’ (Cytotoxins) जस्ता खतरनाक विषालु पदार्थहरूले गर्दा क्यान्सर हुन सक्ने अनुसन्धानकर्ता बताउँछन्।

छुटाउनै नहुने, धूपको धुँवाले तब असर गर्छ जब हामीले त्यस धुँवालाई सिधै निल्छौँ। हुन त , चुरोटको धुँवा र धूपको धुँवा सेवन हुने तरिका धेरै फरक हुन्छ। जे होस्, हामी जति धेरै धूपको धुँवामा बस्छौँ, त्यति नै त्यसले असर गरिरहेको हुन्छ। “धूप र चुरोटको धुँवालाई सेवन गर्ने तरिकाले गर्दा धूपलाई सिधै खतरनाक भन्न पनि मिल्दैन। तर यसमा हुने रसायनहरू चुरोटको धुँवा भन्दा पनि खतरनाक हुन्छन्। तपाईँहरूले धूपलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुरामा मात्रै भर पर्दछ।”, अनुसन्धानकर्ताहरूले भने।