२४ फागुन, कालीकोट।
कुमालगाउँमा अज्ञात रोगबाट आज अपराह्न दुई जनाको मृत्यु भएको छ ।

टाउको दुख्ने, ज्वरो आउने र रिङ्गटा लागेको छोटो समयमा बिरामी हुँदा कुमालगाउँ–१ का बदालकाँडा कमल विकका छोरा नौवर्षीय दीपेन्द्र र गम्म विकका छोरा १२ वर्षीय निराजनको मृत्यु भएको हो । दीपेन्द्रलाई बिरामी भएको दुई दिनअघि स्वास्थ्य संस्थामा उपचार गर्न नलगी धामीझाँक्री मात्र लगाएको र अन्तिम अवस्थामा मात्र स्वास्थ्य संस्थामा उपचार गरिएकाले निजको मृत्यु भएको र निराजनले भने स्वास्थ्य संस्थामा उपचारै नगरेको बताइएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा सुवास शर्माका अनुसार बिरामी लागेको अवस्था हेर्दा परीक्षण नगरी भन्न नसकिने र विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराई रोगको परीक्षण गर्नुपर्नेमा जोड दिए ।

अहिले सो क्षेत्रमा छ जना सो रोगका बिरामी भएको बताइएको छ । स्वास्थ्य संस्थामा हाल दुई जनाको उपचार भइरहेको छ । जिल्ला अस्पतालबाट सो क्षेत्र १२ कोस उत्तरपूर्व पर्छ । सो क्षेत्रमा स्वास्थ्य संस्थाबाट औषधिसहितको टोली पठाइएको र अर्को टोली भने बिरामीको अवस्था बुझी पठाइने जिल्ला स्वास्थ्य कार्यालय का प्रमुख डा शङ्कर लोहलाले बताए । गत वर्ष पनि यही समयमा सीपखाना गाविसको लहरेलामा विद्यार्थीमा अज्ञात रोग फैलिएपछि पूरै गाउँले बिरामी भएका थिए । रासस