१४ चैत, काठमाडौँ।
दसबुँदे माग राखी अनशनरत त्रिविवि शिक्षण अस्पतालका हाडजोर्नी विभागमा कार्यरत प्रा चिकित्सक गोविन्द केसीको स्वास्थ्यस्थिति बिग्रँदै गएको छ ।
उहाँको स्वास्थ्यमा उपचाररत प्रा चिकित्सक दिव्यसिंह शाहले दिनुभएको जानकारीअनुसार चिकित्सक केसीको पिसाबमा एसिटोन, कम रक्तचाप (लो ब्लड प्रेसर), कमजोर मासंपेशी, टाउको दुख्नेजस्ता समस्या देखिएको छ ।
“यस्ता समस्यालाई समाधान गर्न स्लाइन तथा औषधि चलाउनु पर्ने तर उहाँले मानिरहनुभएको छैन” चिकित्सक शाहले भन्नुभयो । नियमितरुपमा उहाँको इसिजीमार्फत पनि स्वास्थ्य परीक्षण भइराखेको उहाँले जानकारी दिनुभयो
चिकित्सक केसीले अनशन सुरु गर्नुभएको आज साताँ दिनमा छ । यस अवधिमा सरकारीतर्फबाट उहाँको अनशन अन्त्य गराउनका लागि खासै प्रयास पनि भएको छैन । सरकारका तर्फबाट आधिकारिक रुपमा केसीलाई भेट गर्न कोही प्रतिनिधि अनशनस्थलमा गएका छ्रैनन् ।
वरिष्ठ अर्थाेपेडिक सर्जन केसीले चौथो अनशन १४ दिनमा अन्त्य गर्नुभएको थियो । यसैबीच उहाँको मागप्रति एक्यबद्धता जनाउँदै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनले त्रिविवि शिक्षण अस्पतालको बहिरङ्ग सेवालाई आंशिक रुपमा अवरोध गरेका छन् ।
एसोसिएनका अध्यक्ष डा रामचन्द्र सापकोटाले केसीका माग पूरा नभए देशभरिका रेजिडेन्ट डाक्टर अस्पताल बन्द गराई आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।
राज्यका विभिन्न निकायलाई आफ्ना विगतका सहमति कार्यान्वनका बारेमा पटकपटक आग्रह एवम् झकझक्याउने काम गर्दा पनि नभएपछि आफू अनशनमा बसेको केसीले बताउँदै आउनुभएको छ ।
दसबुँदे मागमा मेडिकल कलेज सम्बन्धनसम्बन्धी संसदीय समितिले दिएको गलत र बदनियत सुझाव बदर गर्नुपर्ने, नेपालमा चिकित्सा शिक्षाको गुणस्तर कायम गर्नुपर्ने, यसलाई आम मानिसको पहँुचमा ल्याउनुपर्ने, विगतमा मेडिकल कलेज सम्बन्धमा भएका अनियमितता तथा भ्रष्ट गतिविधिमा संलग्न त्रिविवि पदाधिकारीमाथि कारबाही गर्नुपर्ने, राष्ट्रिय चिकित्सा तथा स्वास्थ्य नीति ल्याउनुपर्नेजस्ता रहेका छन् ।