३ असोज, काठमाडौं । सरकारले नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्कालाई बर्खास्त गरेसँगसँगै जग्गा खरिदमा भएको अनियमितताको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोर्टमा पुगेको छ।

बर्खास्त भएसँगै खड्काले आयल निगमका लागि जग्गा खरिदमा गरेको करोडौं घोटालाबाट उन्मुक्ति पाउने हुन् कि भन्ने चिन्ता बढेको छ । अख्तियारले यस विषयमा अनुसन्धान तीव्र पारेर चाँडै अन्तिम टुंगो लगाउनुपर्ने विज्ञले बताएका छन् । ‘यो विषय अब अख्तियारको कोर्टमा पुगेको छ । अख्तियारले कति छिटो विषयलाई टुङ्ग्याउँछ, त्यो हेर्न बाँकी छ,’ अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘खड्का बर्खास्त भइहाले भनेर अर्बौंको भ्रष्टाचार काण्डमा उन्मुक्ति पाउने भन्ने हुँदैन । यस विषयमा चाँडो अनुसन्धान गरेर मुद्दा चलाउनुपर्छ।’  आजको नागरिकमा खबर छ ।

पूर्व मुख्य सचिव विमलप्रसाद कोइरालाले बर्खास्त गरेपछि सरकारले छानविनका लागि अख्तियारलाई पत्र लेखेर पठाउनुपर्ने बताए । ‘सरकारले निलम्बन गर्न पनि सक्थ्यो । स्पष्टीकरण लिएर बर्खास्त गर्न पनि सक्थ्यो । एकैपटक अन्तिम निर्णय गरेको छ । बर्खास्त गरेर पनि अख्तियार र सम्बन्धित निकाय, मन्त्रालयले यस विषमया अनुसन्धान गर्न सक्छ,’ कोइरालाले भने, ‘बर्खास्त गरेपछि सकियो भन्ने होइन, अनुसन्धान अघि बढाउनुपर्छ ।’ उनले विषयको ‘ग्राभिटी’ हेरर अनुसन्धान अघि बढाउने विश्वास व्यक्त गरे।

अख्तियारका पूर्व प्रमुख आयुक्त राधारमण उपाध्यायले अख्तियारको जिम्मेवारी भ्रष्टाचारको विषयमा उजुरी परेपछि थालिने भए पनि चर्चा सुरु भएपछि नै अनुसन्धान सुरु गर्नुपर्ने बताए । ‘भ्रष्टाचारको विषयमा उजुरी नपरे पनि त्यस विषयमा चर्चा सुरु हुनेबित्तिकै अख्तियारले आफ्नै तरिकाले छानबिन सुरु गर्नुपर्छ’, उपाध्यायले नागरिकसँग भने, ‘खड्का राजनीतिक नियुक्तिको आधारमा सो पदमा पुगेका हुन् । अख्तियारले कानुनी प्रक्रियाअनुसार छ कि छैन, अनियमितता भएको छ कि छैन भनेर हेर्ने हो । त्यसमा बर्खास्त गरेको वा नगरेको भन्ने विषयले फरक पर्दैन।’

छानबिन गरी अनियमितता भेटे मुद्दा दायर गर्ने जिम्मेवारी अख्तियारको भएको उपाध्यायले बताए । ‘दोषी हो कि होइन भन्ने निर्णय गर्ने अदालतमा हो,’ उपाध्यायले भने।

अख्तियारका प्रवक्ता जीवराज कोइरालाले जग्गा खरिदबारे सुरु भएको अनुसन्धान निरन्तर अघि बढ्ने बताए । ‘यो प्रवेश भइसकेको विषय हो । त्यसैले अनुसन्धान निरन्तर रुपमा हुन्छ, एउटा निकास दिन्छ,’ कोइरालाले भने । तर अख्तियार खड्काप्रति नरम रहेको समाचार सार्वजनिक हुँदै आएका छन् ।