सुर्य लामा

म एउटा प्रवासी नेपाली हाल साउदी अरब, विदेशमा पाउने दु:खकष्टहरुको बारे सायद खाडी मुलुकमा रोजगारीको शिलशिलामा रहनुहुने नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाई अवगत नै छ। यहाँको दु:ख पिडा अनि उल्झनबाट कोही पनि टाढा छैन। त्यसैले बिदेशमा पाउने दु:ख कष्टका बाबजुद पारिवारिक बिछोडका मार्मिक पीडाहरुको व्याख्या गरिरहनु आवश्यक ठान्दिन ।

लेखक

लेखक

तपाईं द्वय (अनिश खालिङ्ग राइ र राम चन्द्र तिमिल्सिना) हाल चैनको सास लिइराख्नु भएको छ। तर कुनै दिन त्यो सास कति बेला रोकिने हो भनी दिन गन्ती गर्दै पराइ भुमिको जेलको चिसो छिडिमा बस्नु भएको थियो। अनि तपाईं स्वयं लगाएत तपाईंहरुका आफन्त, परिवार, इस्टमित्र, छरछिमेकीहरुले माया मारीसकेको अवस्था थियो। हजारौं सपनाहरु टुटिसकेका थिए, सायद त्यो भन्दा दु:खद क्षण अनि बज्रपात तपाईं लगायत तपाइँको परिवार अनि शुभचिन्तकलाई अरु केही थिएन होला र हुने पनि छैन।

त्यो समय तपाईको जिवनमा भनौँ या परिवार वा शुभचिन्तक माझ साक्षत भागवानको रुपमा संचार माध्यमहरु आइपुगे अनि तपाईंहरुको पीडा, दु:खहरुलाई निस्वार्थ तवरले संसारको विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरुबीच फैलाई दिए ।

तपाईंहरुको जस्तै केही सपना बोकी आफ्नो परिवार र भविष्य उज्ज्वल बनाउन हर दिन दु:ख कष्ट अनि पारिवारिक बिछोडको पीडा बोकी बाँचिरहेका नेपालीहरु सामु, अनि ती नेपालीहरु जस्ले तपाईंका पीडा, परिवारका दु:खहरुलाई आफ्नो दुःख ठानी कतिले आफ्नो कामको ख्याल नगरी दिनरात तपाईंहरुकै उद्धारमा खटे, कतिले आफ्नो समस्या आफ्नो पीडालाई थाती राखी तपाईं र तपाईको परिवारको पीडामा मलम लगाउने काम गरे, कतिले आफ्नो बिहान बेलुकाको छाक कटौती गरि सहायोग गरे। यसरी हर नेपालीले आ -आफ्नो ठाउँबाट दिन रात नभनी सक्दो साथ् र सहयोग गरेका छन, तपाईंहरुले पुनर्जीवन पाउनु भयो ।

यथार्थ बाट कोहि पर हुदैनन र छैनन पनि तेसैले केही प्रश्नहरु गर्न मन लाग्यो र गर्न नि पाइन्छ किनकी ती सहयोगी हातहरुबिच कही कतै म र म जस्ता हजारौं नेपाली हातहरु छन्।

अनिश खालिङ्ग राई, माथीका कुराहरु कसरी र किन बिर्सेको? सुनेको थिए, जुन बेला पराइ भुमिबाट जेल मुक्त हुँदै गर्दा तपाईंले भन्नु भएको थियो कि, “अबको बाँकी जीवन म जस्तो दु:ख पाएको प्रवासी नेपालीहरुको उद्धारमा सुम्पिन्छु, तिनीहरुको सहयोगमा लाग्छु” खै त आज कुन दुनियाँमा हुनुहुन्छ तपाईं ? कतिको उद्धार गर्नु भयो ? कतिको आशु पुछी दिनु भयो ? कतै नेपाली उखान जस्तै भएको त छैन? “ खोला तर्यो लौरो बिर्सियो ”।

हिजो तपाईको निम्ति भनी करोडौं रकम उठेको सर्वबिदितै छ । त्यही रकम आज सरकारी खातामा अर्थहिन बनी थन्किएको छ खोइ खोज तलाश, खोइ त्यो रकम को सदुपयोग?

आज तपाईं जस्तो सयौं नेपाली प्रवासमा जेल जीवन बिताइ राखेका छन्, किन मन पग्लेन? तपाईं कै जस्तै अरुको परिवारमा पनि खुशी छर्ने सोच कहिल्यै आएन? के यो तपाईको पनि उत्तरदायित्व होइन र?

अझै समय छ। हजारौं नेपाली प्रवासी मुलुकमा तपाईले बिगतमा भोग्नु भए जस्तै दु:ख भोगी राखेका छन् । तिनीको पिडामा मलम लगाउन उचित भूमिका खेल्नुस अनिष जी, जसरी मृत्युलाई जितेर मातृभुमि टेकेको दिन प्रवासीको पिडालाई सहजकर्ताको भूमिका खेल्ने छु भन्नु भएको थियो ।

मेरो केही अनुरोध छ रामचन्द्र तिमिल्सिनालाई। अब तपाईं पनि सहयोगी मन अनि हातहरुको सहयोगबाट चाडै नै पराइ भुमि चिसो छिडीबाट मुक्त हुनुहुदैँछ। फेरि पुनर्जीवन पाउदैँ हुनुहुन्छ । ती सहयोगी हात अनि हृदयहरुलाई धन्यवाद मात्र होइन समाज र देशको निम्ति केही अनुकरणीय र उदाहरणिय काम गरेर देखाउनुस् ।

जसरी अनिश खालिंग राइ मृत्युलाई जितेर मातृभुमि टेके देखिन गुमनाम हुनु भएको छ, त्यसलाई नपछ्याउनु होला । कुनै त्यस्तो दिन नआओस कसैले प्रश्न गर्ने, खै त हाम्रो साथ् र सहयोगले पाएको पुर्नजिवनले नेपाल र नेपालीहरु अथवा प्रवासी नेपालीको पिडा, दु:ख अनि कष्टहरुसँग लड्दै गरेकाहरुलाई के गर्दै छौ?

सुनेका छौं तपाइको नाउँमा पनि लाखौ रकम उठेको छ, मलाइ विश्वास छ, बाँकी रकमहरु निस्वार्थ भावनाले कतै निजी प्रयोजनमा प्रयोग नगरी तपाईं जस्तै दु:ख पीडामा भएका जेल जिवन बिताइराखेका ती नेपाली दाजुभाइलाई खर्चिनको लागि व्यवस्था मिलाइनेछ र तपाईंको जस्तै दु:ख र पीडाका बिच बाँचेका परिवारहरुको आँसु पुछिदिनु हुने छ ।

अन्त्यमा पूर्ण बिश्वासका साथ तपाईले निष्ठाको पराकाष्ठा तोडेर कुनै त्यस्तो कार्य गर्नु हुने छैन जसले ती सहयोगी हात अनि हृदयहरुलाई फेरि कुनै तपाई जस्तै नेपालीको उद्धार गर्नको निमित्त निराशा को बादल नमडरियोस, आफ्नो जिम्मेवारी र कर्तव्यलाई सधै आत्मसात गर्नु होला। धन्यबाद !

साउदी अरब