१२ असार, चितवन ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले चितवनका पाँच व्यवसायिक प्रतिष्ठान बन्द गराएको छ ।

बिभागका शाखा अधिकृत ढुन्डिराज पोखरेलको नेतृत्वमा आएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष तीर्थ महर्जनसहितको टोलीले आज चितवन जिल्लाका बजार अनुगमन गरी रामनगरको न्यु शिवशक्ति होटल, सुस्मा होटल, नारायणगढको शर्मा आइसक्रिम, आनन्दमार्गको ओम सत्य साई गल्ला पसल र श्री ट्रेडर्सको कारोबार रोक्का गरेको शाखा अधिकृत पोखरेलले जानकारी दिए ।

नियमविपरीत व्यवसाय सञ्चालन गरेको र अखाद्य वस्तु, म्याद नाघेका वस्तु बिक्री गरेको पाइएकाले उनीहरुको कारोबार रोक्का गरेको उनले बताए ।

पसल सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरी एक हप्ताभित्र प्रशासन कार्यालयमा हाजिर हुने र पुनः अनुगमन गर्दा सञ्चालनका लागि योग्य पाइए सञ्चालन गर्न पाउने ब्यहोरासहितको पत्र उनीहरुलाई दिइएको पोखरेलले बताए ।

अनुगमनका क्रममा होटलहरुले अस्वस्थकर खाना खुवाएको, शर्मा आइसक्रिमले आवश्यकता भन्दा बढी रङ्कको प्रयोग गरेको, श्री ट्रेडर्सले १२ वर्षदेखि व्यवसाय दर्ताबिनै सञ्चालन गरेको र ओम सत्य साई गल्ला पसलले म्याद नाघेकोे खाने तेललगायत अन्य वस्तु बिक्री गरेको पाइएकाले उनीहरुको कारोबार रोक्का गरी बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले जानकारी दिए ।