२९ बैशाख, एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोडा र फिल्म निर्माता अरबाज खान कानुनी रुपले अलग भएका छन् । दुवै जना सम्बन्धबिच्छेदका लागि बिहिबार बान्द्रास्थित ‘फेमिली कोर्ट’ पुगेपछि सम्बन्धबिच्छेदको प्रकृयालाई अन्तिम रुप दिएका थिए ।

अरबाज–मलाइकाका वकिल क्रान्ति साठे र अमृता साठेले सम्बन्धबिच्छेद भएको खबर दिएका थिए । गत बर्षको नोभेम्बरमा दुवैले सम्बन्धबिच्छेदका लागि निवेदन दिएका थिए । मलाइका–अरबाजका दुवै छोरा अरहान मलाइकासँगै हुनेछन् भने अरबाजले भेट्न पाउँने अनुमति पाएका छन् ।

सन् १९९८ मा मलाइका–अरबाजको विवाह भएको थियो । चर्चित रियालिटी शो ‘पावर कपल’मा जब दुवै जनालाई देख्न छाडियो, त्यहीबाट उनिहरुको अलग हुने अनुमान लगाइएको थियो । विवाह भएको १८ बर्षपछि अलग भएका अरबाज–मलाइकाका छोरा अरहान १४ बर्षका छन् ।

मलाइका–अरबाज सन् १९९३ मा ‘मिस्टर कोफी’को विज्ञापनको सुटका क्रममा भेट भएको थियो । यो विज्ञापन निक्कै विवादित रह्यो । यस प्रोजेक्टपछि उनीहरु दुवै नजिकिएका थिए । ५ बर्ष डेटिङ गरेपछि विवाह गरेका थिए ।