काठमाडौं, ३० बैशाख । समाजवादी पार्टी नेपालले आफ्ना अध्यक्ष उपेन्द्र यादवमाथि अन्तरवार्ता लिने नाममा दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएको छ ।

सोमबार बिज्ञप्ती जारी गर्दै पार्टीले उपप्रधान एवं स्वास्थ्य मन्त्रीसमेत रहेका यादवमाथि पत्रकारिता जगतको नै मानमर्दन हुनेगरी अपमानजनक एवं बद्नियतपूर्ण ढंगले दुर्व्यवहार भएको भन्दै भत्र्सना गरेको हो । ‘मिडिया जगत तथा प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्दै आएका अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादलाई सधैं सम्मान गर्दै आएको छ’, विज्ञप्तीमा उल्लेख छ ।

पत्रकारिता आचरण विपरितका यस्ता प्रवृत्ति निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन संचार गृह, संचारकर्मी र प्रेस काउन्सिलसहित मिडियालाई नियमन गर्ने सम्पूर्ण निकायहरुलाई पनि विज्ञप्तीमा अपिल गरिएको छ ।

आइतबार राति ९ बजे एभिन्युज टेलिभिजनबाट प्रशारित हुने लाइभ अन्तरवार्ताका क्रममा प्रस्तोतासँग विवाद हुँदा उनले ‘प्रश्नको जवाफ दिन नसके जान सक्नुहुन्छ भनेपछि’ यादव कार्यक्रम बिचमै छाडेर बाहिरिएका थिए ।