१ असार, काठमाडौं ।

क्यानाडाको सास्क्याचेवन प्रोभिन्सको रेजिना सहरमा हुने रेजिना अन्तरास्ट्रिय चलचित्र महोत्सबमा नेपाली चलचित्र “बिजुली मेसिन” प्रदर्शनको लागि छनोटमा परेको छ |

उक्त महोत्सबको फेसबुक पेजमा सेयर गरिएको खबर अनुसार सो महोत्सव यहि वर्ष अगस्ट महिनाको १६ देखि १९ तारिकमा हुन गइरहेको छ |

महोत्सबमा पठाइएका सयौं अन्तरास्ट्रिय चलचित्रमध्येबाट हालसम्म १५ वटा फिल्म छानिएका छन् | त्यसमध्ये जर्मनीबाट ३, ब्राजिलबाट ३, स्पेनबाट २ , अमेरिकाबाट २, र नेदरल्याण्ड, नेपाल, युके, इजरायल र भारतबाट एक एक फिल्म छनौट भएका छन् | आयोजकका अनुसार छनौटमा परेका मध्येबाट एउटा फिल्मलाई महोत्सबको उत्कृस्ट अन्तरास्ट्रिय चलचित्र घोषणा गरिने छ |

नविन अवालको लेखन तथा निर्देशन रहेको बिजुली मेसिन चलचित्रमा राजेश हमाल, बुद्धि तामांग, लक्ष्मी भुसाल, अविशेक सुबेदी, रेलिजा श्रेष्ठ आदि को भूमिका रहेको छ । आफ्नो चलचित्र महोत्सबमा छनौटमा परेपछि नेपालमा आफ्नो फिल्मको मार्केटिंगमा आफूहरू अलिकति चुकेको भए पनि बिदेशी आयोजक तथा दर्शकले आफ्नो फिल्मको गुणस्तरलाई बुझिदिनु भएकोमा आफू उत्साहित भएको निर्देशकले बताए | मिलेसम्म आफू महोत्सबमा पनि जाने प्रयास गर्ने उनले बताए |

बिजुली मेसिन निर्माण टिममा रिशव आचार्य, बिन्दु तिमिल्सिना, संजिव न्यौपाने र दिपेन बस्नेत रहेका छन् । नेपालको पहिलो विज्ञान सम्बन्धि कथा भएको चलचित्र मानिएको बिजुली मेसिनमा दुई जिम्मेवार नागरिकको सामाजिक कथा प्रस्तुत गरिएको छ | चलचित्रमा विज्ञान सम्बन्धि परामर्श अमेरिकामा उर्जासम्बन्धी नितिनिर्देशनको काम गरिरहेका इन्जिनियर, लेखक तथा साहित्यकार सन्तोष लामिछानेले प्रदान गरेका हुन् ।

“बिजुली मेसिन”  डिसेम्बर ०२, २०१६ मा नेपालमा प्रदर्शनमा आएको थियो । उक्त चलचित्रलाई अधिकांस समिक्षकहरूले रुचाएका थिए ।