स्याङ्जा । यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ ।

बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए । स्याङ्जाको स्वरेक मैदान प्याराग्लाइडिङका लागि एक उत्कृष्ट स्थान रहेको र यहाँबाट दैनिक प्याराग्लाइडिङ भइरहने गरेको छ ।

यस ठाउँमा प्याराग्लाइडिङसम्बन्धी प्रशिक्षण दिने स्कुलसमेत रहेकाले यस क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक तथा खेलाडी भित्र्याउन सकियोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको केसीले बताउनुभयो ।

प्रतियोगितामा स्याङ्जा जिल्लाका चापाकोट, गहाँैसुर, सिर्सेकोट, मिर्मी, हुनिकोट, सतौँ, खिलुङ र सिरुवारीलाई समेट्ने लक्ष्य लिएर आयोजना गरिएको हो । प्याराग्लाइडिङ प्रतियागितामा अमेरिका, बेलायत, चीन, भारत, स्पेन, स्विट्जरल्याड, बंगलादेश लगायतका देशका खेलाडीको सहभागिता रहनेछ ।

छ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा रु ८५ लाख खर्च हुने अनुमान आयोजक बाबु एडभेञ्चर क्लबले गरेको छ । प्रतियोगिताबाट सन् २०१८ मा इन्डोनेसियामा हुने एशियाली हवाई खेलकुदका लागि चार महिला र आठ पुरुष छनोट गरिनेछ ।