९ असोज, पोखरा । स्थानीय तहका तीनै चरणका निर्वाचन सम्पन्न भई मतपरिणाम पनि आएपछि अब दलहरुको ध्यान आगामी मंसिर १० र २१ हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतिर गएको छ ।

जिल्लाका प्रमुख दलहरु नेपाली काँग्रेस, एमाले, (माओवादी केन्द्र) लगायतका दलले इमान्दार र स्वच्छ छवि भएका उम्मेदवार छनोट गरेर जिल्ला समितिमा पठाउन क्षेत्रीय समितिलाई निर्देशन दिइसकेका छन् ।

उम्मेदवार बन्न इच्छुक दलका नेता पनि टिकट पाउनका लागि दौडधूप शुरु गरेको देखिन्छ । चियापसल, गाउँ नगरका चोक, चौतारा र भेटघाटमा निर्वाचनकै परिचर्चा शुरु हुन थालेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कुन दलको उम्मेदवारलाई जिताउन त्यस क्षेत्रको विकास हुन्छ भनेर मतदाताले पनि एक–आपसमा छलफल शुरु गर्न थालेका छन् ।

चार निर्वाचन क्षेत्र रहेको कास्की जिल्लालाई निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाको ३ र प्रदेश सभाको लागि ६ निर्वाचन क्षेत्र कायम गरेका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय पोखराले पनि मतदाता शिक्षाको तैयारीमा जुटेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा कायम गरिएका मतदान स्थल र केन्द्रको पुनरावलोकनका लागि स्थानीय प्रशासनसँग छलफलसमेत भएको बताइएको छ । कास्कीमा आगामी मसिर २१ गते दुबै तहको निर्वाचन हुँदैछ ।