२१ असार, काठमाडौं ।

मुलुकको पुँजी बजारसम्बन्धी सम्पूर्ण सूचना अब ‘मोबाइल एप्स’मा उपलब्ध हुने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लगानीकर्ता र पुँजी बजारमा चासो राख्नेलाई लक्ष्यित गरी थालिएको उक्त एप्सको अर्थमन्त्री डा रामशरण महतले आज सुभारम्भ गरे । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एप्सको सुभारम्भ गर्दै मन्त्री महतले सूचना प्रविधिको वर्तमान युगमा सम्भावित लगानीकर्तालाई कार्यालयसम्म धाउनुपर्ने बाध्यताबाट मुक्त गर्न थालिएको एप्स सेवाबाट पुँजी प्रवाहमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

mobilePhone

“नेप्सेले विद्युतीय कारोबारको प्रक्रियामा पनि शीघ्र सुरु गरोस् भन्ने सरकारको चाहना छ”, पुँजीबजारको विस्तारमा जोड दिँदै उनले भने । सूचीकृत कम्पनी, धितोपत्र व्यवसायी, लगानीकर्तालाई सुसूचित गर्न तथा पारदर्शिता कायम गर्न एप्स उपयोगी हुने विश्वास पनि मन्त्री महतले व्यक्त गरे ।

नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले प्रस्तुत एप्सबाट पुँजीबजारसम्बन्धी सम्पूर्ण सूचना उपलब्ध हुने जानकारी दिँदै निकट भविष्यमा विद्युतीय कारोबारमा जाने तयारीका साथ नेप्से अघि बढिरहेको बताए । एप्समा समावेश गरिने समाचार ‘न्यू बिजनेस एज’को दैनिक प्रकाशन आर्थिक अभियान दैनिकबाट हुनेछ । उक्त प्रकाशनका प्रमुख कार्यकारी अधिकृत मदन लम्सालले पुँजी बजारसम्बन्धी सही समाचारको अभाव भइरहेका बेला थालिएको एप्सबाट सम्बद्ध सबै लाभान्वित हुने विश्वास व्यक्त गरे ।