२९ साउन, काठमाडौं ।
राजदूत उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा विगतका सहमति र सम्झौता कार्यान्वयन हुने गरी ठोस सहमति हुने बताए । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नमिलेका विषय मिलाउने, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण अगाडि बढाउने र अरुण तेस्रो जलविद्युत् आयोजनाको दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त शिलान्यासको टुंगो लाग्ने उनले खुलासा गरे ।

‘प्रधानमन्त्री देउवाको भारत भ्रमणमा विगतका सम्झौता र सहमति कार्यान्वयनबारे गम्भीर छलफल गरी टुंगोमा पु¥याउने मुख्य एजेन्डा बनेको छ,’ राजदूत उपाध्यायले भने, ‘यो भ्रमणले भारतसँग विगतमा पूर्वाधार विकासमा भएका सहमति र सम्झौता कार्यान्वयनलाई मूर्तरूप दिने गरी कुराकानी हुन्छ ।’ नयाँ सम्झौता गर्नेभन्दा पनि विगतमा भएका सम्झौताको कार्यान्वयनलाई प्राथमिकतामा राखेर गम्भीर छलफलको एजेन्डा तय भएको उनले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्रीको भ्रममणमा पञ्चेश्वरको डिपिआर तयार गरी काम अगाडि बढाउने मामिलामा परेको गाँठो फुकाउने विषय प्राथमिकतामा रहेको उपाध्यायले बताए । दुई देशबीच सहमति नबन्दा महाकाली सन्धिको २२ वर्ष बित्दा पनि यसअन्तर्गतको पञ्चेश्वर परियोजनाको डिपिआर बन्न नसक्नुले दुवै देशलाई घाटा परेको उनको भनाइ थियो ।

६ हजार सात सय २० मेगावाट बिजुली उत्पादन गर्ने आयोजना बन्न जति ढिलो हुन्छ उति नोक्सान हुने उल्लेख गर्दै राजदूत उपाध्यायले अब टुंग्याउने गरी सहमति गरिने स्पष्ट पारे । पञ्चेश्वर परियोजना ढिलो गर्न नहुनेमा भारतसमेत सचेत रहेको राजदूत उपाध्यायको भनाइ थियो ।

पञ्चेश्वरमा नमिलेको नदीको सीमासम्बन्धी समस्या टुंग्याउन अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मानिने बताए । ‘भारत र बंगलादेशबीच सीमानदीका विषयमा माथिल्लो र तल्लो तटीय सहकार्यको मोडालिटीअनुसार नेपाल र भारतबीच पनि सहमति बनाउनेबारे छलफल बढेको छ ।’

माथिल्लो कर्णालीको निर्माणमा लगानी सुनिश्चित गर्नेबारे पनि काम अगाडि बढिरहेको उपाध्यायले बताए । भारत सरकारल त्यसका लागि पनि गम्भीरता देखाइरहेकाले छिटोभन्दा छिटो लगानी सुनिश्चित हुने बताए ।

‘लोडसेडिङ हुँदैन’
हिउँदमा लोडसेडिङ नहुने गरी भारत बिजुली दिन तयार भएको उनले बताए । नेपालमा लोडसेडिङ लगभग अन्त भइसकेको र त्यसमा भारतको विशेष सहयोग रहेको बताए । ‘आउँदो हिउँदमा लोडसेडिङ नहुने गरी जति बिजुली चाहिन्छ भारत दिन तयार भइसकेको छ । हामीले त्यसबारे प्रस्ताव राख्नेछौँ,’ उनले भने ।

भारतसँग पेट्रोलियम पाइपलाइन विस्तारका लागि सम्झौता भएर काम अगाडि बढिसकेको जानकारी दिँदै उपाध्यायले अब भारतसँग प्राकृतिक ग्यास र खाना पकाउने ग्यासका लागि पनि सम्झौता हुने जानकारी दिए । भारतको समृद्धिबाट नेपालले लाभ लिन सक्ने बताउँदै सकारात्मक सोचका साथ सबै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।