१८ भदौ,अमेरिका । एनआरएन अमेरिकाको निर्वाचन माहौल निकै तातेको छ । यहि सेप्टेम्वर ५ र ६ तारिखमा हुने निर्वाचनले संस्थामा नयाँ नेतृत्व चयन हुनेछ । संस्थाको बृहत्तर हितमा काम गर्दै आएका वर्तमान कार्यसमितिका सचिव शंकर खड्काले पनि एनआरएन अमेरिकाबाट आइसिसि (गैर आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति) को सदस्यमा उम्मेदवारी दिएका छन् ।

सदस्यका उम्मेदवार खड्काले एनआरएन अमेकिाको चुनावलाई समाजसेवासँग जोडेर हेर्नुपर्ने बताउँछन् । संस्थालाई अन्तराष्ट्रिय अभियानको रुपमा संस्थागत गर्दै सबैको पहुंच र स्वामित्व हुनेगरी अगाडी बढाउन आफूले उम्मेदवारी दिएको बताउदै उनले भने,‘मेरो उम्मेदवारी केवल निर्वाचनमा भाग लिनु र जित्नु मात्र होइन, अमेरिकामा रहेका प्रवासी नेपालीहरुको बिचार र भावनाको प्रतिनिधित्व पनि गर्नु हो ।’ आइसिसि सदस्यको प्रत्यासी रहेका खड्काले अरुलाई सहयोग गर्न र समाजको हितका सामाजिक कार्यहरु पनि गर्दै आएका छन् ।

उनले अमेरिकामा मात्रै नभएर नेपालका विभिन्न ठाउँहरुमा समाजको लागि निरन्तर आर्थिक सहयोग गर्दै आएको बताउदै खड्काले भने,‘मैले सानै देखि समाज र अरुको भलाईका लागि काम गर्नुपर्छ भन्ने कुरा सिक्दै आएको छु ।’ ‘विश्वभरी छरिएर रहेका झण्डै ५० लाख नेपालीहरुलाई एउटै मञ्चमा समेट्न सकियो भने नेपालको समृद्धि धेरै टाढा नरहेको बताउदै उनले यसका लागि समन्वयकारी भूमिका खेल्ने बताए ।

बाढीपीडितको लािग अमेरिकाबाट ७ लाख रुपैंयाँ सहयोग जुटाएर नेपाल पठाउन भूमिका खेलेका खड्काले अमेरिकामै नेपाली समुदायको लागि कम्युनिटी भवन निर्माण गर्न हालै ५ हजार १ डलर सहयोग उपलब्ध गराएका छन् । विद्यार्थी राजनीतिदेखी लिएर नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रमासमेत रहेर काम गरेका खड्काको अगुवाईमा अमेरिकामा सन् २०१० मा तरुण दल स्थापना गरिएको थियो ।

उनले निर्वाचनमा सवैको पूर्ण साथ समर्थन रहेका कारण आइसिसि सदस्यामा आफ्नो जित निश्चित भएको दावी गरेका छन् । खड्काले अमेरिकाभर रहेका प्रवासी नेपालीहरुको पूर्ण साथ सहयोग र समर्थनले आगामी निर्वाचनमा आइसिसि सदस्यमा निर्वाचित गराउन मतदातालाई आग्रह गरेका छन् ।