५ साउन, सिकागो । टेक्सासको एक घरमा चार पुरुषलाई वर्षौँसम्म बन्धक बनाइएको र उनीहरूले सरकारबाट पाउने गरेको सुविधाको रकम बन्धक बनाउनेलाई दिन बाध्य पारिएको जानकारी प्रहरीले शुक्रबार दिएको छ ।

यीमध्ये तीन पुरुषलाई नराम्रोसँग कुपोषण भएको र उनीहरूलाई अस्पताल लगिएको बताइएको छ । सोही घरमा मानसिक रूपमा असक्त तीन महिला पनि फेला परेका थिए र उनीहरूलाई पनि यस्तै व्यवहार त भएको थिएन भनी अधिकारीहरूले अनुसन्धान गरिरहेको बताइएको छ । उनीहरूको अवस्था केही राम्रो देखिएको छ ।

उक्त घरमा नबस्ने एक पुरुषलाई हिरासतमा राखिएको छ तर निजमाथि कुनै पनि अभियोग लगाइएको छैन । यी पुरुषलाई एक ग्यारेजमा राखिएको र ‘लिनोलियम’ मा सुत्न बाध्य पारिएको प्रहरी प्रवक्ता केज स्मिथले बताए ।

उनीहरूलाई त्यहाँ बियर र चुरोट खान दिने लोभमा लगिएको र उनीहरूले पाउने गरेको सुविधारको रकम बन्धक बनाउनेलाई दिन बाध्य पारिएको स्मिथले बताए । स्मिथले उक्त ग्यारेजको अवस्था निकै नराम्रो भएको बताए ।

एक पुरुषले आफू त्यस ग्यारेजमा १० वर्षदेखि बसिरहेको बताए । स्मिथले यो कुरा प्रमाणित भइनसकेको उल्लेख गरे । प्रहरीले अस्पताल लगिएका पुरुषहरू ८०, ७४ र ५० वर्ष नाघेका व्यक्ति भएको जानकारी दिए ।

धेरै व्यक्तिलाई उक्त ग्यारेजमा राखिएको जानकारी प्राप्त गरेपछि प्रहरी उक्त स्थानमा पुगेको थियो । एएफपी