२१ साउन, एजेन्सी ।

ह्वाईट हाउसले अमेरिका जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग हुने जानकारी संयुक्त राष्ट्रसंघलाई गराएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा गरेको निर्णय कार्यान्वयन गर्न लागिएको अमेरिकाले राष्ट्रसंघलाई जानकारी गराएको हो ।

तर बहिर्गमन प्रकिया पुरा नहुन्जेलसम्म जलवायु परिवर्तन सम्बन्धी बैठकहरुमा सहभागी हुने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

फ्रान्सका राष्ट्रपति इम्यान्युअल म्याक्रोनले केही समय पहिले पेरिस आएका ट्रम्पलाई जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा कायम रहन आफूले मनाएको बताएका थिए । तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने पेरिस सम्झौताले अमेरिकालाई खरबौ डलरको नोक्सानी हुने, रोजगारी गुम्ने र देशभित्रका ऊर्जा तथा उत्पादनसम्बन्धी उद्योगहरुमा क्षति पुग्ने भन्दै सम्झौता मान्न नसकिने बताउँदै आएका थिए ।

हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने लक्ष्य सहित २०० वटा देशले हस्ताक्षर गरेको पेरिस सम्झौताले अमेरिकालाई घाटा पुर्याउने सन्देश राष्ट्रसंघलाई पठाइएको पत्रमा उल्लेख गरिएको छ । पत्रमा पेरिस सम्झौताबारे परिमार्जनका लागि वार्ताहरु गर्न भने आफू खुला रहेको पनि जनाइएको छ ।