७ साउन, एजेन्सी ।

ह्वाइट हाउसका प्रेस सचिव सन स्पाइसरले राजीनामा दिएका छन् । संस्थाभित्रको फेरबदलमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सञ्चार निर्देशक नियुक्त गरेपछि स्पाइसर बेखुसी थिए ।

वालस्ट्रिटमा ठूला वित्तीय कारोबार हेर्ने गरेका एन्थनी स्क्यारामुची, स्पाइसरले गर्दै आएका केही जिम्मेवारी निर्वाह गर्ने गरी नियुक्त गरिएका छन् । स्पाइसरका प्रेस सम्मेलनहरु निकै विवादास्पद हुने गरेका थिए तर पछिल्ला हप्ताहरुमा उनी क्यामराबाट टाढा बस्दै आएका थिए ।

द न्यूयोर्क टाइम्स अखबारले ४५ वर्षीय स्पाइसरको स्क्यारामुची नियुक्तिप्रति “गम्भीर असहमति“ रहेको र उनले त्यसलाई “ठूलो गल्ती“ भनेको उल्लेख गरेको छ ।

स्पाइसरले ट्वीट मार्फत आगामी महिना उनले ह्वाइट हाउस छोड्ने बताउँदै राष्ट्रपतिलाई सेवा गर्न पाउँदा ‘गौरवान्वित’ महसुस गरेको बताएका छन् । सारा हकाबी स्याण्डर्सलाई ह्वाइट हाउसको नयाँ प्रेस सचिव तोकिएको छ ।