२७ असार, वासिङ्टन । अमेरिकाको मिसिसिपी राज्यमा सोमबार भएको एक सैनिक विमान दुर्घटनामा परी १६ व्यक्तिको ज्यान गएको छ ।

सैनिक प्रवक्ता क्याप्टेन सराह बर्न्सले मध्य मिसिसिपीको लेफोरे प्रान्तमा सेनाको सो सानो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराएका छन् ।

उनले यस जहाजबाट त्यहाँ रहेका १६ व्यक्तिको शव निकालिएको जनाएका छन् । उक्त विमान सैनिकको कार्गाे बिमान रहेको बताइएको छ ।

उक्त दुर्घटनामा परी ज्यान जानेमा सो विमानमा सवार रहेका सैनिक परेका छन् । सो विमानको दुर्घटनाको बारेमा अनुसन्धान सुरु भएको बताइएको छ ।

लेफोरे प्रान्तीय सङ्कटकालीन निकायका निर्देशक फ्रान्स रान्डलेले समाचारदाताहरुलाई मिसिसिपी डेल्टाबाट १३५ किलोमिटर टाढा पर्ने इलाकामा यो दुर्घटना भएको जानकारी दिए ।

स्थानीय समयानुसार सोमबार अपराह्न करिब ४ बजे यो दुर्घटना भएको जनाइएको छ । दुर्घटना भएको केही समयपछि आएको समाचारमा भने यस विमानमा सवार रहेका नौ व्यक्तिमा पाँचको मृत्यु भएको भनिएको थियो ।

तर पछि दुर्घटनास्थलबाट १६ जनाको शव प्राप्त भएको अधिकारीले जनाएका छन् । दुर्घटनास्थलमा ठूलो सङ्ख्याका सैनिकले उद्वारको काम गरिरहेका छन् ।रासस/एपी