नेपालको आन्तरिक मामिलामा भारतले जति चासो राख्छ, अर्को छिमेकी राष्ट्र चीनले पनि त्यत्ति नै । फरक यत्ति छ कि भारतको चासो सतहमै देखिन्छ भने उसको तुलनामा चीन मौन देखिन्छ । भूकम्पको बेला भारतले नेपालमा नाकाबन्दी गर्यो । त्यतिबेला नेपाली जनताले चीनसँग बढी नै अपेक्षा राखेपनि त्यो अनुसारको सहयोग चीनले नगरेको आम बुझाई छ । खासमा चीनको नेपाल नीति के हो र नेपालमा भइरहेको भनिएको पश्चिमाहरुको प्रभावलाई नजिकबाट नियालेको चीनको प्रतिक्रिया के हो ?

प्रस्तुत छ यसै सन्दर्भमा, चीन भ्रमणमा रहेका नेपाली हेडलाइन्सका सम्पादक बोमलाल गिरीले फुजिन प्रान्तका विदेश विभागका सह-निर्देशक लि होङसँग गरेको कुराकानी ।

नेपालमा भूकम्पको बेला भारतले नाकावन्दी गर्यो, र त्यस्तो बेलामा एउटा असल छिमेकीको नाताले नेपाली जनताले चीनसँग बढी नै सहयोगको अपेक्षा गरेका थिए । तर चीनले त्यो गर्न सकेन । किन ? नचाहेर वा अन्य कुनै कारण छ ?

नेपालसँग हामी असल छिमेकीको नातालाई निरन्तरता दिन र राजनीतिक र आर्थिक सुधार भएको देख्न चाहन्छौं । सकेसम्म आर्थिक र पूर्वाधारको कनेक्टिभिटिलाई बढाउन चाहन्छौं । गत वर्ष मात्र फुजियान प्रान्तमा नेपाललाई नै केन्द्रीत गरेर सुरुङ निर्माण सम्बन्धि ट्रेनिङ नै चलाएका थियौं ।

त्यति बेला नेपाललाई भारतले नाकावन्दी गरेको थियो । त्यो हामीलाई पनि थाहा छ । तपाईले यो पनि याद गर्नु भएको थियो होला कि त्यति बेला एउटै मात्र नेपाल जोड्ने हाइवे बन्द भए पनि हामीले अरु माध्यमबाट भए पनि केही ट्रक इन्धन बैकल्पिक मार्ग प्रयोग गरी नेपाल पठाएका थियौं ।

ढिलै भए पनि निक्कै प्रभावकारी काम गर्यौं भन्ने लाग्छ । आपसी सम्बन्धका हिसावले गरिएको सहयोग थियो त्यो । भूकम्पको प्रसंग सम्झाउनु भयो त्यतिबेला एउटा असल छिमेकीका नाताले आपतकालिन सहयोग पठाउने काममा सबैभन्दा पहिले सहयोग पुर्याउने देश चीन नै थियो ।

सहयोग विस्तार गर्न र जनता जनताबीचको सम्बन्ध विस्तार गर्न चाहन्छौं नेपालसँग । भविष्यमा पनि यो सम्बन्धलाई कायम राख्दै लामोसमयसम्म निरन्तरता दिन चाहन्छौं ।

अझै धेरै विषय छन् जसमा चीनले निरन्तर सहयोग गर्छ । तर यति मात्र प्रयाप्त छैन । केही यस्ता महत्वपूर्ण परियोजनाहरु नेपालसँग मिलेर गर्नुपर्नेछ । यसका लागि केही समय लाग्न सक्छ ।

नेपाललाई कसैले आइसोलेटेड गरेको हामी देख्न चाहन्नौं । नेपालीलाई पिडा दिएको हामीलाई मन पर्दैन । त्यसका लागि नेपाललाई हरेक हिसावले जे गर्न सक्छौं त्यो हामी गर्छौ । अरु देशसँग नेपालको कन्फ्रन्टेसन भयो भने हामी नेपालको पक्षमा उभिन्छौं ।

भारतसँग चीनको करोडौको व्यापारको सम्बन्ध छ । भारतलाई चिढाएर नेपाललाई सहयोग गरेर भारतसँगको त्यो आर्थिक सम्बन्ध विगार्न चीन चाहन्न । त्यसैले चीनले नेपाललाई खुलेर सहयोग गर्न चाहदैन भन्ने नेपाली बुझाईमा कत्तिको सत्यता देख्नुहुन्छ ?

हामी मित्रवत सम्बन्धमा विश्वास गछौं । त्यो रातारात निर्माण हुने विषय होइन । त्यसका लागि वर्षौ लाग्न सक्छ । नेपाल र चीनबीच सम्बन्ध धेरै कन्सोलिडेटेड हो । कसैले पनि यो सम्बन्ध भत्काउन सक्दैन ।

व्यापारिक दृष्टिले हेर्ने हो भने हाम्रो भारतसँग पनि सम्बन्ध छ । तर हामी अत्यन्तै घनिष्ट रुपमा नेपालसँग जोडिएका छौं । हामी सहभागिता र जनतालाई फाइदा हुने कुरामा धेरै ध्यान दिन चाहन्छौं ।

भारत सहित नेपाल र चीनको त्रीदेशय सम्बन्ध विस्तार गर्न चाहन्छौं । भारतसँग पनि हाम्रो सम्बन्ध छ । तर १९६० मा हाम्रो भारतसँग सैन्य तहमै द्वन्द भएको थियो । तर नेपालसँग अहिलेसम्म कुनै तनाव भएको छैन । दुई छिमेकी देशबीचको राम्रो सम्बन्धको महत्वपूर्ण आधार हो नेपाल ।

हामी दुई पक्ष एकआपसमा सम्बन्ध राम्रो बनाउने र नराम्रो सम्बन्ध नहोस् भन्नेमा निक्कै सचेत छौं । नेपालको विकास आर्थिक सहयोगका लागि चीन सदैव तयार छ । फाइदा दुबै पक्षलाई हुने र उपभोग नेपाली जनताले गर्न पाउने गरी केही परियोजनाहरु विकास गर्न चाहन्छौं ।

केही दिनअघि मात्र नेपालका प्रधानमन्त्री प्रचण्डले चीनको भ्रमण गरे । त्यो भ्रमणको विषयलाई लिएर चीनका मिडियाले केही प्रश्न पनि उठाए…।

मैले तपाईले भन्न खोजेको कुरा बुझे । भारतले के भन्छ भन्ने कुरामा हामी धेरै ध्यान दिन्नौं ।

नेपालमा युरोपियन युनियन र अमेरिकाले विभिन्न बहानामा लगानी बढाईरहेको र नेपाललाई आफ्नो प्रभावमा पार्न खोजेको भन्ने बेलाबेलामा टिप्पणी भइरहन्छ । यस बारे चीनको बुझाई र प्रतिकृया के छ ?

युरोपियन युनियन र अमेरिकाले के गर्छन त्यो हामी चासो राख्दैनौं । विदेशी सहयोग भनेको स्वच्छ तरिकाले खेल्ने ठाउँ हो । तर के गर्ने र कस्को सहयोग स्वीकार्ने भन्ने नेपाली जनताको चाहना हो । सहयोगका लागि नेपाललाई हामीलाई नै छान भनेर हामी भन्न चाहदैनौं ।

नेपाली जनताले युरोपियन युनियन, अमेरिका वा अरु कुनै पनि राष्ट्रलाई छान्न सक्छन् । तर हाम्रो छिमेकीको नाताले सम्भव भएसम्म सहयोग गर्न चीन तयार छ र हुन्छ ।

कनेक्टिभिटि, भौतिक भूर्वाधार बढाउने र आर्थिक सुधारका लागि हामी तयार छौं । नेपाल र चीनलाई जोड्ने एउटा मात्र कनेक्टिभिटि छ त्यसलाई थप विस्तार गर्न चाहन्छौं ।

अलिकति नेपाल बाहेक विश्वको अन्य प्रसंग जोडौं । चीन आर्थिक बृद्धिका हिसावले विश्वको दोस्रो सम्पन्न मुलुक हो । र अहिले उसको प्रमुख प्रतिद्धन्द्धी भनेकै अमेरिका हो । अमेरिकालाई अनेक हिसावले चुनौती दिने राष्ट्र उत्तर कोरिया मात्र छ । यस्तो अवस्थामा उत्तर कोरिया र अमेरिकाबीच द्धन्द्ध बढ्दै जाँदा चीन कसको पक्षमा उभिन्छ ?

उत्तर कोरियाका विषयमा संयुक्त राष्टसंघले निकालेको जुन विकल्प छ त्यो कार्यान्वयन होस भन्ने चीन चाहन्छ । हामी उत्तर कोरियाको डिन्यूक्लियराइजेशनका पक्षमा छौं । हामी शान्ति र स्थिरताका पक्षमा छौं नकि युद्ध ।

न्युक्लियरले महाविपत्ती ल्याउन सक्छ । त्यसैले चीन उत्तर कोरियाले गरेको मिसाइल प्रक्षेपणको विपक्षमा छ । यही बहानामा अमेरिकाले दक्षिण कोरियामा गरेको मिसाइल डिफेन्स सिस्टमको हामी गम्भीर आपत्ति प्रकट गर्छौ । जसले तनाव श्रृजना गरेको छ । अमेरिकाको त्यो कदम पछि उत्तर कोरियाले निरन्तर मिसाइल प्रक्षेपण गरेको छ र समस्या समाधानको सट्टा थप बढाएको छ ।

यस विषयमा चीनको धारणा अत्यन्तै प्रस्ट छ । एकातिर हामीले उत्तर कोरियाको न्यूकिअर टेस्टको विरोध गरिरहेका छौं । अर्को तिर दुई देशबीच भएको तेस्रो पक्षको सहभागिता र मिसाइल डिफेन्स सिस्टमको पनि विरोध गरिरहेका छौं ।

यो हामीले किन गरेको हो भने हामी कसैको विपत्ति चाहदैनौं र विपत्तीबाट क्षती व्यहोर्ने एउटा पक्ष चीन पनि हो । कोरियन देशहरुसँग उत्तरी चीनको पनि सिमा जोडिएको छ । जुन कोरियासँगको इकोनोमिक जोन हो । उत्तर कोरियाको मिसाइल प्लान्ट र सिस्टम उत्तर पूर्वी चीनको बोर्डरमै छ । त्यति बेला अमेरिका भन्दा बढी पीडित चीन हुन्छ ।

हामी गम्भीरतापूर्वक के चाहन्छौं, भने सम्बन्धित सबै पक्ष समस्या समाधानका लागि वार्ताको टेवलमा आउनु पर्छ । कुरा के प्रस्ट हो भने हामी उत्तर कोरियाको आन्तरिक मामिलामा पनि कुनै इन्टरेफेयर गर्न चाहन्नौं ।

के तपाईलाई लाग्छ, उत्तर कोरिया आफ्नो कदममा चीनले समर्थन गर्छ भन्ने सोचिरहेको छ ?

हाम्रो उत्तर कोरियासँग कुनै गठबन्धन छैन । दुई देशबीच राजनीतिक प्रणाली उस्तै देखिए पनि हाम्रो बीचमा धेरै भिन्नता छन् । उत्तर कोरियाले जे गरिरहेको त्यो भन्दा चीनको राजनीतिक, सामाजिक र आर्थिक प्रणाली धेरै फरक छ ।

हामी चीनियाँ विशेषाता सहितको सामाजिक र आर्थिक प्रणालीको विकास गरिरहेका छौं । खुल्ला बजार नीतिलाई अवलम्बन गरिरहेका छौं । तर उत्तर कोरियाको क्लोज डोर इकोनोमी छ ।

उत्तर कोरियालाई निरन्तर उल्लेख गरिरहेको अर्को एउटा कुरा के हो भने उत्तर कोरियाका समस्यामा परेका नागरिकलाई चीनले सहयोग गरिरहेको छ । यो समस्या समाधनका लागि हामी सुरक्षा परिषद्को सदस्य भएका नाताले केही जिम्मेवारी हामी पनि लिन्छौं ।

अर्को प्रसंग, दक्षिणी चिनियाँ सागर बारेको अन्तराष्ट्रिय मिडियामा धेरै कुराहरु आइरहेका छन् । त्यहाँको मुख्य समस्या के हो ? चीनले त्यसलाई कसरी लिइरहेको छ ?

साउथ चाइना सी बारेको टेन्सन आशियन मुलुक बीचको समस्या हो । जापान, अमेरिका वा दक्षिण कोरियाको समस्या होइन । किनभने तीनिहरु छिमेकी देश होइनन् । साउथ चाइन सि बारे उनीहरुले केही पनि गर्नु पर्दैन ।

साउथ चाइना सी बारे हामीले धेरै नजिकबाट अमेरिका र जापानको हस्तक्षेप देखिरहेका छौं । यो सम्बन्धीत देशहरु बसेर वार्तामार्फत समाधान हुने समस्या हो । तेस्रो देशको आवश्यकता पर्दैन ।

हामी साउथ सिको संरक्षण गर्न चाहन्छौं । फ्रिडम अफ नेभिगेशनका लागि त्यहाँ कुनै समस्या थिएन र छैन पनि । सबै सम्बन्धित पक्ष आफ्नो कामका लागि स्वतन्त्र रुपमा हिड्डल गर्न सक्छन् । चीनले कसैलाई पनि बन्देज लगाउँदै ।

मान्छेहरुले समस्या छ भनेको मात्र हो तर त्यस्तो छैन । चीन र फिलिपिन्सको चासोको विषय हो । केही हदसम्म अमेरिकाको हस्तक्षेप वा सहजकर्ताको आवश्यकता छैन । फिलिपिन्सको राष्टपतिले दुई पटकसम्म चीन भ्रमण गरेर दुई पक्षबीच कुरा भइसकेको छ ।

दुई देशीय वार्ताले समस्या समाधान हुने क्रममा छ । साउथ सिको समस्या समाधान गरी हामी पूर्ववत सम्बन्ध कायम गर्न सफल भइसकेका छौं । त्यो देखेर अमेरिका, जापान र साउथ कोरिया पनि चुप लाग्न बाध्य भएका छन् ।

हामी यस विषयमा आवश्यक पर्दा फिलिपिन्स, भियतनाम वा अरु आशियान मुलुकसँग छलफल गर्न तयार छौं । विवादित क्षेत्रलाई पनि व्यापारका रुपमा विस्तार गर्न हामी चाहन्छौं ।